पेरिसमा आतंकवादी आक्रमणमा १ सय २० भन्दा बढीको मृत्यु (भिडियो)

पेरिस,

फ्रान्सको राजधानी पेरिसका केही स्थानमा एक साथ भएको आतंकवादी आक्रमणमा १ सय २० भन्दा बढीको मृत्यु भएको छ । फ्रान्स प्रहरीका अनुसार बन्दूकधारीले केहीलाई बन्धक बनाएका छन् । france

स्थानीय समयअनुसार शुक्रबार राति ९ बजे पेरिसका केही ठाउँमा गोलीबारी भएको थियो भने राष्ट्रिय रंगशालामा विष्फोट गराइएको थियो ।

फ्रान्सको समाचार एजेन्सी एएफपीले सुत्रहरुलाई उद्धृत गर्दै १ सय २० भन्दा बढीको मृत्यु भएको जनाएको छ । राजधानी पेरिसको कन्सर्टमा भेला भएका १ सय भन्दा बढीलाई बन्धक बनाइएको छ । त्यहाँ प्रहरीले ५ जना आक्रमणकारीलाई मारेको छ ।

राष्ट्रपति फाँस्वा होल्यान्डले राष्ट्रको नाममा सन्देश दिंदै आपतकाल घोषणा गरेका छन् । फ्रान्सका सबै सिमा सील गरिएको छ । राजधानी पेरिसबासीलाई घर बाहिर निस्कन रोक लगाइएको छ । स्थानीय प्रहरीको सहयोगका लागि सेनालाई पनि तयार रहन निर्देशन दिइएको छ ।

कुनै पनि समूहले घटनाको जिम्मेवारी अहिलेसम्म नलिएको बीबीसीले जनाएको छ । चरमपन्थी संगठन इस्लामिक स्टेटले सामाजिक सञ्जालमा घटनाको तारिफ गरेको छ ।

राष्ट्रिय रंगशालामा फ्रान्स र जर्मनीबीचको खेल भइरहँदा विष्फोट भएको थियो । त्यहाँ तीन जनाको मृत्यु भएको छ ।