चीनबाट इन्धन ल्याउन प्रचण्ड र बिजुक्छे एकमत

काठमाडौं, ४ कात्तिक । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेबीच भेटवार्ता भएको छ ।
बिजुक्छे निवास कमलविनायकमा मंगलबार एक घण्टासम्म भएको भेटमा भारतले गरेको अघोषित नाकाबन्दीका कारण देशमा उत्पन्न असहज परिस्थितिलाई सहज बनाउनेतर्फ दुई नेताबीच छलफल भएको थियो ।
भेटमा अध्यक्ष बिजुक्छेले पेट्रोलियम पदार्थलगायत आवश्यक वस्तुहरूमा भारतमा मात्र निर्भर नभएर अन्य देशहरूबाट समेत ल्याउन विकल्प खोज्नुपर्ने सुझाब दिनुभएको थियो ।
पेट्रोलको विकल्पमा विद्युतीय गाडी र मोटरसाइकल आयाततर्फ ध्यान दिनुपर्ने सुझाब दिँदै उहाँले विकल्पमा चीनलगायत अन्य देशसँग तत्काल प्रस्ताव गरेर अगाडि बढ्नुपर्ने उहाँले सुझाव दिनुभएको नेमकिपाका सचिव सुनिल प्रजापतिले जानकारी दिनुभयो ।
एमाओवादीका अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले विगतमा भन्दा भिन्नै तरिकाले सरकार सञ्चालन गर्ने बताउनुहुँदै चीनबाट इन्धन आपूर्तिका लागि पहल सुरु भइसकेको जानकारी गराउनुभएको थियो । मुलुकलाई आत्मनिर्भर बनाउनेतर्फ आफ्नो दलको ध्यान गएको अध्यक्ष प्रचण्डले भेटमा बताउनुभएको थियो । रासस