काठमाडौं २७ असाेज । सिन्धुपाल्चोक घर भई हाल राजधानीको शंखमूल बस्ने सुवर्ण लामिछानेले मंगलबार नयाँ बानेश्वरस्थित थ्री ब्रदर्स पेट्रोलपम्पमा पेट्रोल भर्न बिहान ८ बजे मोटरसाइकल लाइनमा राखे। उनी लाइन बस्दा पेट्रोल भर्नेको ताँती नयाँ बानेश्वरबाट शंखमूलतर्फ झन्डै ५ सय मिटर तल पुगिसकेको थियो। सात घन्टा कुरे तर उनले पेट्रोल भर्न पाएनन्।
पम्पले आयल निगमबाट ६ हजार लिटर मात्र पेट्रोल आएको र त्यसले ६ सय मोटरसाइकल, २ सय कार तथा जिपलाई मात्र दिन पुग्ने पेट्रोल रहेको भन्दै लाइनमा अगाडिका ६ सय मोटरसाइकल र २ सय कार तथा जिपलाई तेल भर्ने कुपन दिउँसो ३ बजेतिर बाँड्यो।
बिहानै लाइन बसेर पनि तेल भर्न नपाएपछि लामिछानेले पम्पका कर्मचारीलाई ‘बिहानै किन जानकारी नदिएको?’ भन्दै आक्रोश पोखे। कर्मचारीले निगमबाटै ढिला जानकारी पाएलगत्तै कुपन बाँडिएको जबाफ दिए।
‘बिहानै ६ सयभन्दा बढीले तेल पाउँदैन भनेको भए दिनभर लाइनमै बस्दैनथ्यौं नि,’ उनले नागरिकसँग भने, ‘भोकभोकै लाइनमा बसियो, अहिले आएर छैन भनेर फर्काए। सरकारले निजी सवारीलाई तेल दिन्छु भनेर झुक्यायो।’
लामिछाने मात्र होइन, त्यही पम्पमा उनीभन्दा अगाडिका करिब सय र पछाडि शंखमूल चोकसम्म लाइन बसेका करिब १४ सय मोटरसाइकल र केही कारले तेल भर्न पाएनन्।
नयाँ बानेश्वरमा मात्र होइन, मंगलबार उपत्यकाका सबै पेट्रोल पम्पमा लाइन बसेका अधिकांस रित्तो हात फर्कन बाध्य भए। सरकारले मागका आधारमा पेट्रोल निकै न्यून परिमाणमा पम्पमा पठाएका कारण लाइनमा बस्ने अधिकांश रित्तो हात फर्कनु पर्योा।
मैतीदेवीस्थित पम्पमा बिहानै मोटरसाइकल लाइनमा राखेका घट्टेकुलोका सुनिल गौतमले पनि दिनभर लाइन बसेर तेल पाएनन्। ‘अघिल्लो राति नै लाइन बसेका केहीले पाँच लिटर पेट्रोल पाएछन्,’ उनले नागरिकसँग भने, ‘हामी त लाइन बस्नु मात्र भयो।’
मंगलबार पेट्रोल पाइने आसमा लाइन बसेका अधिकांशको एउटै गुनासो थियो, पम्पअनुसार तेलको कोटा तोक्ने सरकारले कति सवारीले पेट्रोल हाल्न पाउने सवारी संख्यासमेत तोक्नुपर्थ्यो। सरकारले सवारी संख्या नतोक्दा उपत्यकाका १ सय २५ वटै पेट्रोल पम्पमा तेल पाउनेभन्दा तीन गुणा धेरै सवारीको लाइन लागेकाले उपत्यकाभर मंगलबार सवारीको लाइन देखिएको थियो।
लाइन बसेका सबैजसो मंगलबारै तेल हाल्न पाउनेमा विश्वस्त थिए। तर, पेट्रोल वितरणका बेला संख्याको कुरा आएपछि लाइन बसेका अधिकांशले तेल दिन्छु भन्दै झुक्याएर दुःख दिएको भन्दै सरकारको आलोचना गरे।
पम्पमा उपलब्ध पेट्रोलभन्दा अत्यधिक सवारी लाइन बसेपछि कतिपय पम्पले कुपन बाँडेका थिए भने कतिपयले कुपन नै नबाँडी अगाडिका सवारीलाई मात्र पेट्रोल दिँदा विवाद नै भयो। कुपन बाँडेका पम्पमा समेत केही समय विवाद भएको थियो। लामो लाइनकै कारण पानीपोखरी, साँखुलगायत केही पम्पमा बेलुकी अबेरसम्म पेट्रोल पुगेकै थिएन।
सुकेधारास्थित पम्पमा रातिदेखि नै लाम बसेका चावहिलका भरत मैनाली सरकारसँग निकै आक्रोशित देखिए। ‘यो सरकार पनि हुतिहारा रहेछ, जनतालाई ढाँटेर दिनसम्म दुःख दियो,’ उनले नागरिकसँग भने, ‘बिहानीले दिनको छनक दिन्छ भन्छन्, यो सरकारबाट हामीले कति दुःख पाउनुपर्ने हो?’
निगमले मागका आधारमा पेट्रोल दिन नसकिएको स्विकारेको छ। निगमका प्रवक्ता दीपक बरालका अनुसार मंगलबार उपत्यकामा ६ लाख लिटर पेट्रोल बाँडियो। मागका आधारमा यो परिमाण न्यून भएकाले लाइन बसेका सबैलाई पेट्रोल दिन नसकिएको उनले जनाए।
गत शनिबार गृह मन्त्रालय, वाणिज्य, सुरक्षा निकाय र निगमका पदाधिकारीको बैठकले एक दिन मंगलबार निजी सवारीलाई पेट्रोल दिने निर्णय गरेको थियो। पेट्रोल वितरण सहज पार्न गृहले सबै पम्पमा सुरक्षा व्यवस्थापन गरेको थियो।
गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकालले ३० लाख लिटर तेलको माग रहेकामा ६ लाख लिटर मात्र वितरण गर्न सकेकाले लाइन बस्ने सबैले तेल नपाएको बताए। ‘मागअनुसार तेल दिन नसक्दा लाइन बस्नेले गुनासो गरेका हुन्,’ उनले भने, ‘लाइन बस्नेले दुःख नपाऊन् भनेर पम्पबाट वितरण हुने पेट्रोल पाउने सवारी संख्याबारे हामीले जानकारी गराएका थियौं। तर कतिपय पम्पमा सूचना नपुग्दा धेरैले दुःख पाएछन्।’
वितरणमा समस्या नआओस् भनेर सरकारले सबै उपाय अपनाएको उनले जानकारी दिए।
उनले अघिल्लै दिन तेल पाउने सवारीको संख्याबारे जानकारी गराउन नसकेको स्विकारे। ‘यति धेरै सवारीको लाइन लाग्ने अनुमान थिएन,’ उनले भने, ‘लाइन लामो भएपछि हामीले पम्पको कोटाअनुसार तेल पाउने सवारी संख्याबारे जानकारी गरायौं।’
गृह प्रवक्ता ढकालले लाइन बसेकालाई समयमा नै जानकारी गराएको दाबी गरे पनि निजी सवारीधनीले भने समयमा नै जानकारी नदिएर दुःख दिनुका साथै झुक्याएको भन्दै आक्रोश पोखे।
त्रिपुरेश्वरमा लाइन बसेका कृष्ण पराजुलीले दिउँसो ३ बजेपछि मात्र संख्याबारे जानकारी दिइएको बताए। ‘सुरुमै भनेको भए दिनभर दुःख त पाइँदैनथ्यो,’ आक्रोशित उनले भने, ‘बिनासित्तिमा तेल दिन्छु भनेर ढाँट्यो सरकारले।’
सामान्य स्थितिमा दैनिक ३ सयदेखि साढे ३ सय किलोलिटर पेट्रोल वितरण हुने काठमाडौंमा अहिले मुश्किलले ५० हजार लिटर मात्रै वितरण हुने गरेको छ। पेट्रोल आयात घटेपछि सरकारले निजीलाई पेट्रोल वितरण गर्न छाडेको थियो। तर, दसैंका लागि भन्दै मोटरसाइकललाई ५ लिटर र कार तथा जिपलाई १५ लिटर इन्धन उपलब्ध गराउने घोषणा गरेको थियो।






