ज्यानकै बाजी राखेर दँशै मनाउन

काठमाडौं २७ असाेज ।  लामो समय इन्धन अभावमा जिउन बाध्य उपत्यकावासी दसैं मनाउन घर जाने क्रममा ज्यानकै बाजी लगाएर असुरक्षित यात्रा गरिरहेका छन्।
राजधानी छाड्ने सर्वसाधारण बसभित्र कोचिएरै/भुन्डिएरै तथा छतमै बसेरै भए पनि यात्रा तय गर्न बाध्य छन्। यो अवस्थाले ठूला दुर्घटना निम्तने जोखिम बढेको छ।
भारतको नाकाबन्दीले पेट्रोलियम पदार्थ अभाव भएपछि बस व्यवसायीले नियमित चलाउँदै आएका गाडी नचलाउँदा सर्वसाधारण ज्यान जोखिमै राखेर यात्रा गर्न विवश छन्।
मंगलबार उपत्यकाको कोटेश्वर, नयाँबसपार्क, कलंकी, रत्नपार्क, माछापोखरीलगायत स्थानबाट छुटेका लामो दूरीका बसभित्र उभिएर, छतमा बसेर लामो दूरी तय गरेका थुप्रै यात्रु भेटिए।’महिनौं दिन हामीले यहाँ तेल नपाएर पाउनसम्मको दुःख पायौं, अब एक दिन दुःख पाए के होला र? ‘
नयाँ बसपार्कबाट धनगढीका लागि छुटेको बसको छतमा साथीसँग बसेकी सरस्वती खड्काले अन्नपूर्णसँग भनिन्, ‘डराएर के गर्नु ? बुवाआमालाई भेट्न जाँदा मरिएछ भने राम्रै होला।’ खड्काले ६ घन्टा लाइनमा बसेर टिकट पाएकी हुन्।
यसअघि लामो तथा छोटो दूरीमा चल्ने बसमा दुर्घटना पर्न सक्ने भन्दै प्रहरीले क्षमताभन्दा बढी यात्रु बोक्न दिँदैनथ्यो । पेट्रोलियम पदार्थ पर्याप्त नभएपछि ट्राफिक प्रहरीले यसपटक कडाइ गरेको छैन । कारण यात्रु मनलाग्दी तरिकाले यात्रा गर्न थालेका छन्।
टिकट काटेर पनि बसमा सिट नपाएका कतिपय लामो दूरीका यात्रु ट्रकमै कोच्चिएर जान थालेका छन्। ‘कुनै पनि विकल्प भएन वर्ष दिनमा आउने चाडमा घर पनि नगइ भएको छैन’, पोखरा जान ट्रकमा चढेका कमल भुर्तेलले भने, ‘जतिसुकै दुःख पाएर पनि घर त जानैपर्छ । म गइनँ भने दसैंका बेला छोराछोरीले खल्लो मान्छन्, श्रीमतीले पनि नराम्रो मान्छिन्।’
घन्टौं लगाएर टिकट पाएका यात्रु घर जानका लागि त्यत्तिकै समय गाडी कुर्न धुलाम्मे सडकमा खर्चिन बाध्य छन् । टिकट काट्न नसकेका कतिपय यात्रु झोला बोकेर जबरजस्त बसमा कोच्चिएर उपत्यका छाड्न थालेका छन्।
‘हामी सुख खोजेर कहाँ पाइन्छ र ? तीन घन्टा लाइन बसें तर टिकट पाइनँ। अहिले टिकटबिनै गाडी कुरिरहेको छु। जे आउँछ त्यहीमा जान्छु, जहाँ झर भन्छन् त्यहीं झर्छु,’ पाँच वर्षदेखि दसैं मनाउन घर जान नपाएका विराटनगरका सोम भण्डारीले भने, ‘देशको स्थिति देख्दा नियमकानुन केही मान्न मनलाग्दो रहेनछ।’
दसैंमा ठूलाबडाको हातबाट टीका थाप्न, आफन्त र साथीभाइलाई भेट्न आतुर यात्रुले झुन्डिएर यात्रा गर्न थालेपछि दुर्घटनाको जोखिम बढे पनि सरोकारवाला निकायको भने त्यसतर्फ ध्यान जान सकेको छैन।
पेट्रोलियम पदार्थ अभावले पनि लामो दूरी तय गरेर दसैंमा घर जाने यात्रुको सुरक्षाका लागि कुनै त्यस्तो योजना बनाउन यातायात विभागले भ्याएको छैन।
पेट्रोलियम पदार्थ अभाव र सरकारले पर्याप्त सुरक्षा दिन नसक्दा दसैंका नाममा धेरै यात्रुको ज्यान जाने जोखिम बढेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव शरद सिटौलाले बताए।
‘समयमै पेट्रोलियम पदार्थको व्यवस्था गर्न नसक्दा र स्कर्टिङ नहुँदा यात्रु धेरै मारमा परेका छन्। अहिले धेरै कम संख्यामा छुटेका लामो दूरीका सवारीसाधनमा जसरी पनि यात्रा गर्ने भन्दै यात्रु चढेका छन्,’ सिटौलाले भने, ‘यस्तो अवस्थाले दुर्घटना निम्ताउने जोखिम बढेको छ।’
उनले आन्दोलनका कारण पूर्वी क्षेत्रमा छुट्ने सवारीसाधनका चालकले असुरक्षा भएको भन्दै हेलमेट लगाउनुपर्ने बाध्यता भएको बताए। ‘म यात्रुलाई हतार नगर्न, संयमता अपनाउन अनुरोध गर्छु। महत्वपूर्ण जीवनप्रति सोच्न पनि आग्रह गर्छु’, उनले भने, ‘हामी बाध्य छौं भएका गाडी पनि चलाउन सकेका छैनौं। सरकार निरीह छ। हामीलाई केही सहयोग गर्दैन।’
यातायात विभागका प्रवक्ता वसन्त अधिकारीले तेल अभावका कारण दसैंका लागि लामो दूरीका सवारीसाधन थप्न नभ्याएको दोहोर्‍याए। विभागले यात्रुले दुःख नपाऊन् भनेर सोमबारदेखि यात्रु सहायता कक्ष सञ्चालन गरेको उनले बताए।