भाेलीदेखि दसैंका गाडी सरर

काठमाडौं, २४ असोज । ढिलै भए पनि दसैं मान्‍न घर जाने यात्रुले सोमबारदेखि सवारीसाधन चढ्न पाउने भएका छन्।

 सरकार, यातायात व्यवसायी तथा नेपाल आयल निगम (एनओसी) ले सोमबारदेखि लामो दूरीको बस सञ्चालन गर्ने निर्णय गरेका हुन्। सोमबारदेखि आठ दिनका लागि दसैंलाई लक्षित गरेर विशेष सतर्कता तथा सुरक्षाका साथ सवारीसाधन सञ्चालनमा ल्याइनेछ।
नाकाबन्दी, असुरक्षा, बन्दहडताल तथा इन्धन अभावमा यसपटक अग्रीम टिकट काट्ने व्यवस्था कार्यान्वयनमा आउन सकेन। अग्रीम टिकट काट्ने सुविधा कार्यान्वयनमा आउन नसक्दा यसपटक यात्रुको चाप निक्कै बढ्नेछ।यात्रुले यात्राको एक दिनअघि नयाँ बसपार्क, सुन्धारा, कलंकी, गौशाला, कोटेश्वर, चाबहिल, बल्खुलगायतका स्थानका टिकट काउन्टरबाट टिकट काट्नुपर्नेछ।
दसैंमा निर्बाध रूपमा लामो दूरीमा सवारीसाधन सञ्चालन गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारसँग आठ दिनका लागि ७४ लाख ९६ हजार लिटर डिजेल र पेट्रोल माग गरेको छ। महासंघका महासचिव सरोज सिटौलाले आठ दिनमा उपत्यकाबाट १५ लाख यात्रुलाई दसैं मान्न घर पठाउने योजना तयार पारिएको जानकारी दिए।
लामो दूरीमा दैनिक ६ हजार दुई सय ५० वटा ठूलो बस सञ्चालनमा ल्याइनेछ । यस्ता बसका लागि दैनिक नौ लाख ३७ हजार लिटर इन्धन उपलब्ध गराइदिन महासंघले एनओसीलाई पत्राचार गरेको छ।
यो परिमाणको इन्धन उपत्यका छाड्ने सवारीसाधनका लागि मात्र हो। ‘लामो दूरीका सवारीसाधनका लागि मात्रै करिब ७५ लाख लिटर इन्धन माग गरेका छौं’, सिटौलाले शनिबार अन्नपूर्ण पोस्ट्सँग भने, ‘मागअनुसार प्राप्त भयो भने सोमबारदेखि पूर्ण संख्यामा सवारीसाधन सञ्चालनमा ल्याउँछौं। थोरै प्राप्त भयो भने त्यही आधारमा सवारीसाधन सञ्चालनमा आउनेछ।’
लामो दूरीका बसलाई चक्रपथवरिपरिका ३७ वटा पेट्रोल पम्पहरूबाट १५० लिटर डिजल दिने सम्झौता भएको छ। 
वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव शिवप्रसाद त्रिपाठीले यात्रुलाई गन्तव्य स्थलसम्म पुर्‍याउन एनओसीलाई अन्य क्षेत्रमा वितरण हुँदै आएको इन्धन कटौती गरेर सञ्चित गर्न निर्देशन दिएको जानकारी दिए।
‘सञ्चित इन्धनको सहयोगमा दसैं मान्न जाने यात्रुका लागि सोमबारदेखि सवारीसाधन सञ्चालनमा ल्याउने सरकारको तयारी छ’, त्रिपाठीले भने, ‘भरपर्दो सुरक्षा दिएर लामो दूरीका सवारीसाधन सञ्चालनमा ल्याउँदैछौं।’
उनका अनुसार आइतबारदेखि नै लामो दूरीका सवारीसाधनलाई बढी परिमाणमा इन्धन वितरण गर्ने योजना पनि कार्यान्वयनमा ल्याइनेछ । लामो दूरीका सवारीसाधनलाई चक्रपथ वरिपरिका पेट्रोलपम्पबाट इन्धन उपलब्ध गराउने योजना छ।
लामो दूरीमा दैनिक ठूला साना गरेर झन्डै ५० हजारको संख्यामा गाडी ओहोरदोहोर गर्छन्। वर्षेनी दसैंमा यात्रुहरूले विभिन्न सुविधासहित नयाँ बसमा यात्रा गर्न पाउने सुविधा पाए पनि यसपटक पुरानै बसमा यात्रा गर्नुपर्ने बाध्यता छ।’बन्दहडताल, इन्धन अभाव र असुरक्षाका कारण नयाँ बस भित्र्याउन सकिएन’, महासंघ सम्बद्ध बागमती अञ्चल अध्यक्ष धर्मराज रिमालले भने।
महासंघका अनुसार आयल निगमसँग शनिबार लामो दूरीका बसलाई १५० लिटर डिजल दिने सम्झौता भएको छ। चक्रपथवरिपरिका ३७ वटा पेट्रोल पम्पहरूबाट लामो दूरीका सवारी साधनलाई इन्धन दिइने छ।
सिटौलाका अनुसार दसैं अवधिभर उपत्यकासहित वरपरको क्षेत्रका लागि भने दैनिक अढाइ लाख लिटर इन्धन माग गरिएको छ। यो परिमाणको इन्धनबाट दैनिक दुई हजार आठ सय ठूला बस, एक हजार नौ सय मिनिबस, आठ सय माइक्रोबस, पाँच हजार पाँच सय ट्याक्सी, चार सय पर्यटक बस र सयवटा खाद्यान्न, दूध, तरकारीसहित अत्यावश्यक ढुवानीका साधन सञ्चालन गरिने योजना छ।
बसलाई दैनिक ४० लिटरका दरले एक लाख १२ हजार, मिनिबसलाई ३० लिटरका दरले ५७ हजार, माइक्रोबसलाई २५ लिटरका दरले ३० हजार र ट्याक्सीलाई १० लिटरका दरले ५५ हजार लिटर इन्धन माग गरिएको छ।
यातायात व्यवस्था विभागले असोज २४ गतेदेखि उपत्यकाको विभिन्न १२ स्थानमा यात्रुहरुका लागि हेल्प डेस्क राख्ने तयारी गरेको छ । विभागले लामो दूरीका लागि छुट्ने सवारीसाधनका लागि दुईजना चालक राख्ने व्यवस्था गरेको छ।