दक्षिणबाट धम्की, पार्टी फुटाउने सम्मको योजना

Prime Minister Narendra Modi. File photoकाठमाण्डौ २२ असोज ।  भारतीय दबाबलाई बेवास्ता गर्दै नेपालको संविधान संविधानसभाबाट जारी भएपछि रुष्ट बनेको भारतले नेपालको प्रमुख नेताहरुलाई प्रत्यक्ष –अप्रत्यक्ष रुपमा धम्की दिन थालेका छन् । प्रमुख प्रतिपक्ष दल एमाओवादी अध्यक्ष प्रचण्डलाई विभिन्न च्यानलमार्फत एमाले अध्यक्ष केपी ओलीलाई सहयोग नगर्न दक्षिणले दबाब दिएको स्रोतको दाबी छ ।

एमाओवादी अध्यक्ष प्रचण्डलाई ओलीलाई किन प्रधानमन्त्री बनाउन लागेको भन्दै विभिन्न शक्ति केन्द्रले ओलीको पछाडि नलाग्न प्रचण्डलाई दबाब मात्रै दिएका छैनन्, धम्की पनि दिन थालेका छन् ।

दबाब तीव्र

एमाले वरिष्ठ नेता झलनाथ खनाललाई प्रधानमन्त्री बनाउन लागेको बेला भन्दा पनि अप्ठेरो स्थिति सिर्जना भएको आफ्ना कार्यकर्तामाझ प्रचण्डले खुलासा समेत गरिसकेका छन् । कार्यकर्ता प्रशिक्षणको क्रममा सुनसरी पुगेका प्रचण्डले भने,‘पार्टी फुटाउनेदेखि लिएर जेल हाल्नेसम्मका धम्कीहरु विभिन्न माध्यमबाट आइरहेका छन् । तर हामी त्यस्ता धम्कीबाट बिचलित हुने पक्षमा छैनौं ।’ प्रचण्डले भारतको नाम नलिए पनि त्यतैतिरको शक्ति केन्द्रमार्फत दबाब आएको हुन सक्ने एक माओवादी नेताले बताए । ती नेताका अनुसार एमाओवादीभित्र भारतले चलखेल गर्ने आधारहरु अहिले छैन । एमाओवादी पार्टी एक ढिक्का भएर राष्ट्रिय सहमतिको सरकार बनाउने पक्षमा उभिएको छ ।

कांग्रेसमा पनि चलखेल

भारतले आफ्नो अनुकुलमा संविधान जारी नभएपछि सरकार बनाउने खेलमा चासो दिँदै कांग्रेसभित्र पसेको छ । कांग्रेस र एमालेबीच भएको भद्र सहमति तोड्दै पछिल्लो समय कांग्रेसले यसको विरुद दिन थालेको अभिव्यक्तिलाई यसकै प्रभावको रुपमा बुझ्न थालिएको छ ।

स्रोतका अनुसार कांग्रेसमा प्रधानमन्त्रीको लागि दक्षिणले शेरबहादुर देउवालाई अघि सारेर चलखेलको सुरुवात गरिसकेको छ । प्रधानमन्त्रीको दौडमा देउवा नभए उसले कांग्रेस उपसभापति रामचन्द्र पौडेललाई समेत अगाडि सार्ने भएको छ । पौडेल सहमतीय सरकारको कुरा हुनेबित्तिकै बटारिएका छन् । र, उनी आफैं प्रधामन्त्री बन्ने दौडमा होमिएका छन् । देउवा पक्षले पनि पछिल्लो समय आफ्नो तयारी तीव्र पारेको छ । हिजोको केन्द्रीय समिति बैठकमा समेत भारतप्रति नरम हुँदै देउवा पक्षले सरकारको नेतृत्व कुनै पनि हालतमा कांग्रेसले छाड्न नहुने अडान राखेको थियो ।

ओलीलाई कठिन

प्रधानमन्त्रीको दौडमा सबैभन्दा अघि देखिएका ओलीका लागि पछिल्लो विकसित घटनाक्रमले प्राप्त हुनै लागेको प्रधानमन्त्रीको पद नै गुम्ने संकेत देखिन थालेका छन् । ओलीलाई पनि भारतले रुचाएको छैन । ओलीले आफ्ना दूतहरु खटाउँदासमेत ओलीलाई प्रधानमन्त्री बनाउन नसकिने जवाफ दिँदै दिल्लीले अब ओलीलाई देखाइदिने बताएको छ । स्रोतका अनुसार पछिल्लो समय ओलीले समेत भारतलाई छक्क्याएकोले भारत रुष्ट भएको बताइन्छ । भारतले प्रधानमन्त्रीको चुनाव हुँदा त्यसको राम्रै जवाफ दिने सन्देश विभिन्न च्यानलमार्फत बालकोटसमेत पुर्याएको एमाले वृत्तमा चर्चा छ ।