गगनशिला खड्का
गुल्मी ४ पुस । गाउले जनताका पाखोबारीमा बृक्षरोपण गरी हराभरा बनाउन र उनीहरुलाई पशुपालनमा सघाउन जिल्ला भु संरक्षण कार्यालय गुल्मीले गुल्मीमा डालेघाँस अभियान सञ्चालन गरेको छ । कार्यालयले चालु आर्थिक बर्षमा ८० हजार डालेघाँसका विरुवा उत्पादन गरी वितरण गर्न लागेको छ । कार्यालयको बार्षिक कार्यक्रम अनुसार गुल्मी जिल्लाका तिन वटै क्षेत्रमा एक एक वटा नर्सरी बनाउन शुरु गरिएको जिल्ला भु.संरक्षण कार्यालय गुल्मीका प्रमुख विनोद ज्ञावलीले जानकारी दिनुभयो । एउटा नर्सरीका लागि एक निर्वाचन क्षेत्रमा एक लाख ७५ हजारका दरले ५ लाख २५ हजारको लागतमा गुल्मी जिल्लामा ३ वटा नर्सरी निर्माण गर्न लागेको ज्ञावलीले बताउनुभयो । उहाँले अनुसार गुल्मीको क्षेत्र २ को रिडी र ३ को नयाँगाउँ गाविसमा नर्सरी निर्माण गर्ने काम शुरु भईसकेको बताउनुभयो । प्रत्येक दुईवटा नर्सरीबाट २५ हजारका दरले ५० हजार र रिडी नर्सरीबाट ३० हजार डालेघाँसका विरुवा उत्पादन गरी निशुल्क रुपमा वितरण गर्ने भुसंरक्षण कार्यालयले जनाएको छ ।
स्थानिय बासिन्दाले पशुपालन व्यवसाय गरेपनि डालेघाँसको अभावमा पशुपालन गर्न नसकेको र बृक्षारोपण कार्यक्रममा आर्कषण बढाउनका लागि डालेघाँसका विरुवा उत्पादन गरेर निशुल्क वितरण गर्न लागेको कार्यालयले जनाएको छ । सोही कार्यक्रम अनुशार भुसंरक्षण कार्यालयले बुधबार नयाँगाउँ गाविसमा निर्माण गर्न लागेको नर्सरीका लागि जग्गा छनोट गरेको छ । कार्यलय प्रमुख विनोद ज्ञावली,घरेलु तथा साना उद्योग विकास समिति गुल्मीका बरिष्ठ अधिकृत कृष्ण प्रसाद पोख्रेल, सञ्चारीका समुह गुल्मीका अध्यक्ष गगनशिला खड्का लगायत प्राविधिकको टोलीले जग्गाको निरीक्षण गरी जग्गा छनोट गरेको छ । बुधबारदेखी नै नर्सरीका निर्माणको काम शुरु गरिएको कार्यालय प्रमुख ज्ञावलीले बताउनुभयो ।
गुल्मी भुसंरक्षणले ८० हजार डालेघाँका विरुवा उत्पादन गर्ने






