नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य ओरालो लागेको भए पनि मूल्य नघटेको भन्दै चर्को आलोचना भएपछि निगम सञ्चालक समितिको आज बसेको बैठकले मूल्य समायोजन गरेको हो ।
निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर रु सात घटाइएको छ । रु १२३ मा कारोबार हुँदै आएको पेट्रोल आजदेखि उपभोक्ताले रु ११६ मा पाउने भएका छन् ।
यस्तै डिजल र मट्टितेलमा भने रु ५.५० घटाइएको छ । नयाँ मूल्यअनुसार डिजल र मट्टितेलको मूल्य रु ९२ कायम भएको छ । हवाई इन्धन आन्तरिकतर्फ रु १० घटाएर प्रतिलिटर रु १३३ कायम गरिएको प्रवक्ता घिमिरेले जानकारी दिनुभयो । यसअघि डिजल र मट्टितेलको मूल्य रु ९७.५० रहेको थियो भने हवाई इन्धन आन्तरिकको मूल्य रु १४३ रहेको थियो ।
खाना पकाउने ग्यास र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फको भने मूल्य समायोजन भएको छैन । मूल्य समायोजनपछि पनि निगमको मासिक नाफा रु ४८ करोड ५९ हुने प्रवक्ता घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार पेट्रोलमा रु २१ करोड ७९ लाख, डिजेलमा नौ करोड ९२ लाख र मट्टितेलमा रु तीन करोड नौ लाख नाफा हुनेछ । यसैगरी हवाई इन्धनमा(आन्तरिकतर्फ) रु १२ करोड ५३ लाख र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ रु ४४ करोड ८७ लाख हुने अनुमान गरिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य प्रतिव्यारेल ६२ डलरमा कायम रहेको छ । विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न गरेको आग्रहबमोजिम प्रधानमन्त्री सुशील कोइरालाले मूल्य घटाउन बिहीबार नै वाािणज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापालाई निर्देशन दिनुभएको थियो । इन्डियन आयल कर्पोरेसन (आइओसी)ले यही पुस १ गते पठाएको नयाँ मूल्यसूचीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
पेट्रोलियम पदार्थको मूल्य घट्यो






