काठमाडौं: शारीरिक अभ्यास गर्न छोडी सबेरै इन्टरनेटमा व्यस्त हुने, रक्सी धेरै पिउने, जंकफुडलाई खानाकै रूपमा लिन थालेपछि नेपाली युवा धमाधम हृदयाघात (कोरोनरी हार्ट डिजिज) को सिकार बन्न थालेका छन् ।
चिकित्सकका अनुसार पछिल्लो पाँच/छ वर्षयता नेपाली युवामा अस्वाभाविक रूपमा हृदयाघात बढेको छ । यसलाई नियन्त्रण गर्न नसकिएमा आगामी १५ वर्षमा हृदयाघात भएर नेपालमा मर्नेहरूको संख्या ३५ प्रतिशत पुग्ने अनुमान चिकित्सकको छ ।
ज्यानमारा रोगका रूपमा चिनिएको हृदयाघात पहिले धनी र वृद्ध उमेरका मानिसमा देखापर्ने भनिएको भए पनि अहिले २० वर्षमै युवाहरूले ज्यान गुमाउन थालेको वीर अस्पताल, मुटुरोग विभागका प्रमुख एवं नेपाल हर्ट फाउन्डेसनका अध्यक्ष डा. प्रकाशराज रेग्मीले बताए ।
रेग्मीका अनुसार अस्वस्थकर खानपान र शारीरिक अभ्यासको कमीले सहरी क्षेत्रका युवाहरू सबैभन्दा धेरै हृदयाघातको सिकार हुन पुगेका छन् । ‘पहिले सबेरै शारीरिक अभ्यास गर्ने, घरको स्वस्थ खाना प्रयोग गर्ने, रक्सी पिउनु हुँदैन भन्ने सुझावलाई युवाले आत्मसात् गर्थे,’ रेग्मीले अन्नपूर्णसँग भने, ‘अब त्यस्तो अवस्था रहेन, बिहानै ओछ्यानमै मोबाइल, इन्टरनेट, ल्यापटप, कम्युटरमा व्यस्त हुन थालेका छन् युवाहरू, विभिन्न बहानामा अत्यधिक रक्सी पिउन थाले, जंकफुडको प्रयोग पनि धेरै भइरहेको छ, गरिबी, बेरोजगारी, सामाजिक अवस्था, लभ अफेयरलगायतको तनावले हृदयाघात निकै बढेको छ ।’
सरकारसँग युवामा हृदयाघातको अवस्थाबारे तथ्यांक नभए पनि सहिद गंगाल हृदयरोग केन्द्र, मनमोहन कार्डियोथेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर, नर्भिक अस्पताल, ग्रान्डी अस्पताल, नेपाल हार्ट फाउन्डेसनलगायत मुटुरोग उपचार गर्ने अस्पतालहरूमा पुग्ने बिरामीमध्ये १० देखि १५ प्रतिशत युवाहरूलाई हृदयाघात भएको पाइएको छ ।
ती अस्पतालमा कार्यरत मुटुरोग विशेषज्ञ र शल्यचिकित्सक हृदयाघातको समस्या युवामा बढ्दै जाँदा यसले ठूलो क्षति निम्त्याउन सक्ने बताउँछन् । सहिद गगांलाल हृदय केन्द्रका निर्देशक डा. जोतेन्द्र शर्माले पछिल्लो समय केन्द्रमा उपचारका लागि आउनेमध्ये आधाजति युवा हृदयाघात भएर ढिलो आइपुग्ने बताए ।
चिकित्सकका अनुसार पछिल्लो समय १७ देखि ४० वर्ष उमेर समूहका धेरैजसो मानिसमा अस्वस्थकर जीवनशैलीका कारण बिस्तारै मुटुका रक्तनली बन्द हुने र हृदयाघातको समस्या देखिने गरेको छ ।
ग्रान्डी अस्पतालका मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले मुटुको रक्तनली बन्द हुँदा एन्जिोप्लास्टिक गर्ने, औषधि खाने र बाइपास सर्जरीलगायत गर्नुपर्ने धेरै युवा आउन थालेको बताए ।
उनका अनुसार पाँच वर्षअघि महिनामा २०/२५ वटा यस्ता शल्यक्रिया हुने गरेकोमा अहिले महिनामा तीन सय जनाभन्दा बढीको यस्तो उपचार हुने गरेको छ । एकदुईपटक मात्र धूमपान गर्ने युवाहरूमा समेत हृदयाघातको समस्या देखिएको छ । जागिर, अध्ययन, विवाह, आर्थिक अभावलगायतको तनावमा बढीभन्दा बढी बस्ने युवाको संख्या बढ्न थालेको र उनीहरूमा हृदयाघातको समस्या बढेको उनले बताए ।
नर्भिक अस्पतालका मुटुरोग विशेषज्ञ डा. भारत रावतले युवाहरूमा हृदयाघातको समस्या देखिनुमा शारीरिक अभ्यासको कमी भएको बताए । हृदयाघातले महिलालाई पनि सिकार बनाउन थालेको छ । गत वर्षको तथ्यांकअनुसार गंगालाल हृदयरोग केन्द्रमा एक हजार एक सय ८८ जनाको हृदयाघातको उपचार गरिएको थियो । तीमध्ये २७ प्रतिशत महिला थिए ।