सिड्नी । नेपाली समुदायको बाक्लो बसोबास रहेको न्यू साउथ वेल्सको दक्षिण–पश्चिम क्षेत्रमा सक्रिय साउथवेस्ट नेपाली कम्युनिटीको साधारणसभाले चन्द्र ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।सामाजिक तथा सामुदायिक क्षेत्रमा सक्रिय संस्थाको नयाँ कार्यसमितिको उपाध्यक्षमा प्रकाश पौडेल, महासचिवमा विवेक निरौला, कोषाध्यक्षमा हेमा भण्डारी, सचिवमा सुमन न्यौपाने र प्रवक्तामा प्रदीप लामा चयन भएका छन्।
नवनिर्वाचित अध्यक्ष चन्द्र ढकालको नेतृत्वमा साउथवेस्ट नेपाली कम्युनिटीले आगामी कार्यकालमा स्थानीय समुदायसँगको सहकार्यलाई निरन्तरता दिँदै सामाजिक तथा सामुदायिक गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।केन्द्रीय सदस्यमा सुवान चौलागाईं, वसन्तराज ओझा, पूनम भुषाल आचार्य, सुदन लामा, महेश भट्टराई, विशाल सुवेदी, सन्तोष बन्जाडे, समर ढुंगाना र विनोद पौडेल रहेका छन्।साधारणसभाले नयाँ नेतृत्व चयन गर्नुका साथै संस्थाको अघिल्लो दुई वर्षे कार्यकालमा भएका गतिविधि, उपलब्धि तथा चुनौतीबारे समीक्षा गरेको थियो। स्थानीय समुदायसँगको सहकार्य र नेपाली समाजको उत्थान तथा प्रवर्द्धनका विषयमा आगामी दिनमा गर्नुपर्ने कार्यबारे पनि छलफल गरिएको थियो।
कार्यक्रममा गैरआवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष दिनेश पोखरेल, एनआरएनए अष्ट्रेलियाका पूर्व अध्यक्ष नन्द गुरुङ, एनआरएनएका कोषाध्यक्ष निजन चौलागाईं, एनआरएनए अभियन्ता विजय पौडेल, रञ्जितराज वन्त, ओएनएफका रमेश पाण्डे र केशव जोशी, एनएडीएफका पूर्वअध्यक्ष छिरिङ लामा, झापाली समाजका अगुवा भुपाल सिटौला, ग्रेटर सिड्नी नेपाली सेन्टरका अध्यक्ष विष्णु हमाल लगायतले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए।वक्ताहरूले सिड्नीको दक्षिण–पश्चिम क्षेत्रमा नेपाली समुदायका लागि संस्थाले स्थापना कालदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि थप प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरे। 






