लेस्टर, नेपालमा हालै गएको विनाशकारी बाढी तथा पहिरोमा ज्यान गुमाएकाहरूको सम्झनामा बेलायतको लेस्टर शहरमा दीप प्रज्वलन (क्यान्डल लाइट भिजिल) सहित श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। सृजनशील लेस्टर नेपाल युके (Shrijanshil Leicester Nepal UK) को आयोजनामा टाउन हल स्क्वायरमा कार्यक्रम गरिएको हो।
कार्यक्रममा सहभागीहरूले नेपालको राष्ट्रिय झण्डा वरिपरि मैनबत्ती बालेर तथा फूल अर्पण गर्दै बाढीपीडितहरूप्रति शोक र ऐक्यबद्धता व्यक्त गरेका थिए।
श्रद्धाञ्जली सभामा स्थानीय जनप्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रमुख तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा बेलायती संसद सदस्य शिवानी राजा, लेस्टरका लर्ड मेयर कुलविन्डर सिंह जोहल, काउन्सिलर भुपेन्द्र दवे, क्राइम कमिशनर रुपर्ट म्याथ्यु, शान्तिधाम लेस्टरका अध्यक्ष बिनोद पोपट, ब्रिट्स देसी सोसाइटीका अध्यक्ष रिशु वालिया लगायतको सहभागिता थियो। साथै पुकार न्युजका रुमेल र आइटीभी न्युजका राजीवसहित मिडिया प्रतिनिधिहरू पनि उपस्थित थिए।
संस्थाका अध्यक्ष शिव पराजुलीको नेतृत्वमा सम्पन्न कार्यक्रम महासचिव वरुण भण्डारीले सञ्चालन गरेका थिए। कार्यक्रममा संस्थापक अध्यक्ष राजु कँडेल, पूर्व अध्यक्षहरू दयानिधि सापकोटा, बलराम चापागाईं र पुण्डरी अर्याल तथा बुद्ध फाउन्डेसन युकेका सुरेन रुपाखेतीसहित नेपाली समुदायका अग्रज, महिला, युवा र विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
वक्ताहरूले प्राकृतिक विपत्तिको यस दुःखद घडीमा प्रवासमा रहेका नेपालीहरू मातृभूमिको पीडामा सधैँ साथमा रहेको बताएका थिए। कार्यक्रममा सहभागीहरूले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका थिए।






