तमु समाज सिड्नीको अध्यक्षमा समिता गुरुङ चयन

सिड्नी । तमु समाज सिड्नीको वार्षिक साधारणसभा सम्पन्न भएसँगै आगामी २०२६–२०२८ कार्यकालका लागि समिता गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ। शनिबार सम्पन्न साधारणसभाले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गर्दै आगामी दुई वर्षका लागि संस्थाको जिम्मेवारी हस्तान्तरण गरेको हो।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा ज्ञानेन्द्र गुरुङ र जीवन गुरुङ, महासचिवमा उषा गुरुङ, सचिवमा बरु गुरुङ तथा कोषाध्यक्षमा निराजन गुरुङ चयन भएका छन्। त्यसैगरी सह–कोषाध्यक्षमा रोशन घले, कल्याण संयोजकमा पुष्पा गुरुङ, महिला संयोजकमा ज्योति गुरुङ, सह–महिला संयोजकमा सुनिता गुरुङ, सांस्कृतिक सचिवमा गणेश गुरुङ, सह–सांस्कृतिक सचिवमा प्रीति गुरुङ, खेलकुद सचिवमा किरण गुरुङ, सह–खेलकुद सचिवमा अर्जुन घले तथा सूचना–प्रविधि (आईटी) सचिवमा विक्रम गुरुङ चयन भएका छन्।कार्यसमिति सदस्यहरूमा सुरज गुरुङ, लक्ष्मी गुरुङ, सञ्जित गुरुङ, लिल गुरुङ र इन्दिरा गुरुङ चयन भएका छन्। सदस्यता सचिव, सार्वजनिक सम्बन्ध अधिकृत, विद्यार्थी संयोजक, सह–आईटी सचिव तथा सह–कल्याण संयोजक पद भने पछि मनोनयन गरिने जनाइएको छ।

नवनिर्वाचित अध्यक्ष समिता गुरुङले संस्थाप्रति विश्वास गर्दै जिम्मेवारी सुम्पिएकोमा सम्पूर्ण सदस्यहरूप्रति आभार व्यक्त गर्दै सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाएकी छन्। उनले तमु समुदायको भाषा, कला, संस्कृति तथा मौलिक परम्पराको संरक्षणसँगै युवा पुस्तालाई समुदायसँग जोड्ने विभिन्न कार्यक्रमलाई प्राथमिकता दिइने बताएकी छन्।साधारणसभामा वक्ताहरूले नयाँ नेतृत्वलाई बधाई दिँदै संस्थाको आगामी यात्राका लागि शुभकामना व्यक्त गरेका थिए। उनीहरूले तमु समाज सिड्नीले समुदायबीचको एकता, सहकार्य र सामाजिक उत्तरदायित्वलाई थप सुदृढ बनाउँदै नेपाली कला, संस्कृति र पहिचानको संरक्षणमा निरन्तर सक्रिय भूमिका खेल्दै आएको उल्लेख गरेका थिए।

यस अवसरमा निवर्तमान अध्यक्ष हेउपति गुरुङ नेतृत्वको कार्यसमितिलाई पनि धन्यवाद ज्ञापन गरिएको थियो। संस्थाको विकास, समुदायको हित तथा विभिन्न सामाजिक, सांस्कृतिक र सामुदायिक गतिविधिलाई सफलतापूर्वक अगाडि बढाउन पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै नयाँ नेतृत्वले त्यसलाई निरन्तरता दिने विश्वास व्यक्त गरिएको थियो।आयोजकका अनुसार नयाँ कार्यसमितिले आगामी कार्यकालमा संस्थागत सुशासनलाई थप मजबुत बनाउँदै तमु समुदायको साझा हित, सांस्कृतिक पहिचानको संरक्षण तथा भावी पुस्तासम्म भाषा, संस्कृति र परम्पराको हस्तान्तरणलाई प्रभावकारी रूपमा अघि बढाउने लक्ष्य लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *