लण्डन — तामाङ समुदायको कला, संस्कृति सहित आयोजना गरिएको ‘फस्ट तामाङ फेस्टिभल भव्य रूपमा सम्पन्न भएको छ।
तामाङ समाज यूकेको आयोजनामा शनिबार लण्डन ग्रीनफोर्ड स्थित वुडल्यान्ड राइजको खुल्ला मैदानमा उत्साहपूर्ण सहभागिता सहित सम्पन्न भएको हो।
कार्यक्रममा लण्डन बरो अफ हाउन्स्लोका पूर्व मेयर बिष्णु गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। लामा गुरुहरूको पूजा–पाठ पश्चात् प्रमुख अतिथि गुरुङ तथा तामाङ समाज यूकेका अध्यक्ष सुरेश वाइबाले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए।
प्रमुख अतिथि गुरुङले तामाङ समुदायको उल्लासमय उपस्थिति र कार्यक्रमको प्रशंसा गर्दै स्थानीय कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन नै पहिचान र समृद्धिको आधार भएको उल्लेख गरे। उनले यस्ता कार्यक्रमले आपसी सम्बन्ध सुदृढ गर्नुका साथै नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति र सामुदायिक मूल्यसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
अध्यक्ष सुरेश वाइबाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्ष कुमार लामाले स्वागत मन्तव्य राख्दै सहभागी र अतिथिहरूलाई स्वागत गरेका थिए। कार्यक्रममा डेनमार्क, माल्टा, बेल्जियम, स्विडेन लगायत युरोपका विभिन्न देश तथा बेलायतस्थित संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। अतिथिहरूले आफ्नो मन्तव्यमा तामाङ फेस्टिभलको खुलेर प्रशंसा गरेका थिए।
कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्व तथा प्रतिभाहरूलाई सम्मान समेत गरिएको थियो। साथै झाँक्री, ताम्बो, बाच्छे बाजा जस्ता परम्परागत सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिनुका साथै तामाङ संस्कृतिको जीवन्त झल्को देखाइएको थियो।
फेस्टिभलको मुख्य आकर्षणका रूपमा ‘मंगोलियन हार्ट’ का चर्चित गायक राजु लामा ले विशेष प्रस्तुति दिएका थिए। त्यस्तै विश्व दोङ, मनमाया वाइबा र जितु लोप्चन लगायतका कलाकारहरूले सांगीतिक प्रस्तुति मार्फत दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरेका थिए।
अध्यक्ष वाइबाका अनुसार लण्डनमा पहिलोपटक आयोजना गरिएको यो फेस्टिभल तामाङ इतिहास, भाषा र संस्कृतिलाई विश्वसामु चिनाउने महत्वपूर्ण अवसर बनेको छ। उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सदस्य, स्वयंसेवक तथा बेलायतस्थित नेपाली समुदायप्रति आभार व्यक्त गरे।
महासचिव रोज दोङले कार्यक्रम भव्य र सफलतापूर्वक सम्पन्न भएको जनाउँदै यस फेस्टिभलले समुदायबीचको सहकार्य, एकता र सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे।
फेस्टिभलमा प्रस्तुत विभिन्न सांस्कृतिक झाँकी, परम्परागत नृत्य तथा सांगीतिक कार्यक्रमहरूले तामाङ समुदायको समृद्ध सांस्कृतिक धरोहरलाई जीवन्त रूपमा प्रस्तुत गरेका थिए। कार्यक्रममा विभिन्न नेपाली संघ–संस्था तथा समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।








