लण्डन। धादिङ–नुवाकोट समाज यूके (DNS UK) द्वारा आयोजना गरिएको ‘डीएनएस कप फुटबल प्रतियोगिता २०२६’ को समूह विभाजन (Group Draw) सार्वजनिक गरिएको छ। प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको आयोजकले जनाएको छ।
प्रतियोगिता आगामी १८ जुलाई २०२६ (शनिबार) बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म लण्डनस्थित Springwest Academy, Browells Lane, Feltham मा सञ्चालन हुनेछ। सोही दिन प्रतियोगिताका सम्पूर्ण खेलहरू आयोजना गरिनेछन्।
प्रतियोगिताका संयोजक थमु वाइबाका अनुसार खेलकुदमार्फत युवा पुस्तालाई एकीकृत गर्ने तथा स्वस्थ मनोरञ्जन प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।
समूह ‘ए’ मा Hayes FC, Nepalese Brothers, Dhangarchowk Tigers, Northolt FC र Lamine Hamal FC रहेका छन्।
त्यसैगरी समूह ‘बी’ मा BGFC, Maya Feltham United, Tamang Samaj UK, Feltham YB FC तथा TKS FC परेका छन्।
प्रतियोगिता ८–ए–साइड (8-a-side) स्वरूपमा खेलाइनेछ। विजेता टोलीले £८०० तथा उपविजेताले £४०० नगद पुरस्कार प्राप्त गर्नेछन्।
प्रतियोगितामा अन्तर्राष्ट्रिय खेलाडीलाई सहभागी गराइने छैन भने स्लाइडिङ ट्याकल पूर्ण रूपमा निषेध गरिएको छ। साथै प्रत्येक टोलीलाई ४ जना रोटेटिङ सब्स्टिच्युट राख्न अनुमति दिइने आयोजकले जनाएको छ।
डीएनएस फुटबल कप प्रतियोगिता २०२६ खेलकुदको माध्यमबाट युवा पुस्तालाई जोड्न र स्वस्थ मनोरञ्जन प्रदान गर्न यो प्रतियोगिता आयोजना गरिएको धादिङ नुवाकोट समाज यूके अध्यक्ष धनबहादुर तामाङले बताए । खेलकुदमार्फत नेपाली समुदायबीच आपसी सद्भाव, भाइचारा र युवा सहभागिता अभिवृद्धि गर्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गरिएको हो। यस प्रतियोगिताले लण्डनस्थित नेपाली फुटबल समुदायलाई एकै स्थानमा ल्याउने अपेक्षा गरिएको छ।






