सिड्नीमा धान तथा दही–चिउरा खाने दिवस सम्पन्न

सिड्नी, जुन २९। नेपाली कृषि, संस्कृति तथा मौलिक परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली अभिभावक समाज अष्ट्रलको आयोजनामा धान दिवस तथा दही–चिउरा खाने दिवस विशेष कार्यक्रमका बीच सम्पन्न भएको छ। सिड्नीको अष्ट्रलस्थित डब्लु. भी. स्कट स्मारक पार्कमा आयोजित कार्यक्रममा नेपाली समुदायका अग्रज, विभिन्न सामाजिक तथा सांस्कृतिक संघसंस्थाका प्रतिनिधि, समाजसेवी, स्वयंसेवक तथा स्थानीय नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।समाजका अध्यक्ष कृष्णबहादुर कर्माचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य अम्बिका बस्नेतले स्वागत मन्तव्य राखेकी थिइन् भने कार्यक्रमको सञ्चालन सचिव ईश्वरबाबु थापाले गरेका थिए।

कार्यक्रममा फेन्का न्यू साउथ वेल्सका संयोजक, नेपाली ब्लड डोनर्स एसोसिएसन (एनबीडीए) अष्ट्रेलियाका अध्यक्ष तथा समाजका सल्लाहकार मुक्तिराम पोखरेल, अनेसास न्यू साउथ वेल्सका अध्यक्ष एवं समाजका संरक्षक सल्लाहकार भावना पराजुली, समाजका निवर्तमान अध्यक्ष गणेश पोखरेल, सल्लाहकार सुशीलकुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। वक्ताहरूले धान दिवस तथा दही–चिउरा खाने दिवस नेपालीहरूको मौलिक पहिचान, कृषि संस्कृति तथा पुस्तान्तरणको महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै विदेशमा रहेका नेपालीहरूले यस्ता कार्यक्रममार्फत आफ्नो भाषा, संस्कृति र परम्परालाई नयाँ पुस्तासम्म पुर्‍याउनुपर्ने बताएका थिए।

कार्यक्रममा धान दिवसको ऐतिहासिक, सांस्कृतिक तथा कृषि महत्वबारे चर्चा गरिएको थियो। सहभागीहरूले परम्परागत दही–चिउरा ग्रहण गर्दै नेपाली मौलिक संस्कृति, आपसी सद्भाव र सामाजिक एकताको सन्देश प्रवाह गरेका थिए। साथै सांस्कृतिक प्रस्तुति, मनोरञ्जनात्मक कार्यक्रम तथा विभिन्न सामुदायिक गतिविधिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

कार्यक्रम सफल बनाउन समाजका उपाध्यक्ष तथा समाजसेवी बद्री फैजु र सबिना फैजुले आफ्नी आमाको जन्मदिनको अवसर पारेर विशेष सहयोग पुर्‍याएका थिए। त्यसैगरी समाजसेवी सीता पोखरेलको पनि उल्लेखनीय सहयोग रहेको आयोजकले जनाएको छ।विदेशमा रहेर पनि नेपाली मौलिक संस्कृति, कृषि परम्परा तथा सामाजिक एकतालाई जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले नेपाली समुदायबीच आपसी सम्बन्ध अझ सुदृढ बनाएको आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *