लण्डन दूतावासमा भूपू ब्रिटिश गोर्खाको उच्चस्तरीय वार्तामा के के भयो ?

लण्डन  भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपाल बीच उच्च स्तरीय वार्ता सम्पन्न भएको छ।

सोमबार ८ जुनमा लन्डनस्थित नेपाली दूतावासमा भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरुका माग सम्बन्धी त्रिपक्षीय वार्ता फेरि पनि थप छलफल गर्ने सहमतिमै सकिएको छ।

लन्डनस्थित नेपाली दूतावासमा झण्डै अढाई घण्टा चलेको पहिलो पटक भएको मन्त्रीस्तरीय वार्तामा छलफल सकारात्मक भएको तर निष्कर्षका लागि फेरि छलफल गर्नुपर्ने बताइएको हो ।

वार्तामा बेलायती रक्षामन्त्री जोन हिली र नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल ‘भर्चुअल’ रुपमा जोडिएका थिए। गोर्खाहरूका गुनासा सम्बोधन गर्दै दुवै पक्षलाई स्वीकार्य हुने समाधान यथा शीघ्र खोजिनुपर्ने आवश्यकता औँल्याइएको थियो।

सांसद एलेक्स बेकर तथा बेलायत सरकारकी भेटेरान मिनिस्टर लुइस स्यान्डरर्स जोन्सको नेतृत्वमा १० सदस्यीय टोली वार्तामा सहभागी भएका थिए। वार्तामा बेलायतका लागि कार्यवाहक नेपाली राजदूत विपिन दुवाडी, सैन्य सहचारी रथी अनुप शाह तथा सचिव सञ्जोग राई सहभागी भएका थिए।

गोर्खाहरुको प्रतिनिधित्व गर्ने ‘जी टेन समूह’ भूपू गोर्खा प्रतिनिधि मेजर रिटायर्ड जुद्धबहादुर गुरुङ,मेजर रिटायर्ड टिकेन्द्र दल देवान,मेजर रिटायर्ड उदयबहादुर गुरुङ,कृष्णकुमार राई, कृष्णबहादुर राई, धनबहादुर गुरुङ, पुस्पा राणा घले, धर्म तामाङ र केशबहादुर गुरुङ सहभागी थिए।

बेलायतका लागि नेपाली कार्यवाहक राजदूत दुवाडीले आजै निष्कर्ष नआएपनि वार्ता सकारात्मक भएको र आशावादी हुन सकिने ठाउँ रहेको प्रतिक्रिया दिएका छन्।

पहिलोपटक मन्त्रीस्तरीय वार्ता हुनु सकारात्मक रहेको बेलायती सांसद एलेक्स बेकरले प्रतिक्रिया दिएकी छन् ।
गोर्खा प्रतिनिधि र नेपाली पक्षको मागअनुसार आगामी जुलाईमा पुन: वार्ता हुन सक्ने जनाइएको छ ।
ब्रिटिश गोर्खा सैनिक र तिनका परिवारले पेन्सन, आवासीय अधिकार र कल्याणकारी सुविधाका लागि लामो समयदेखि बेलायत सरकार संग माग गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *