मगर संघ यूके युएचएसबी शाखाको माघे संक्रान्तिमा गायिका निरा थापा मगर आउदै

लन्डन! लोक तथा दोहोरी गायिका तथा मोडल निरा थापा मगर माघे संक्रान्तिको पावन अवसरमा बेलायत आउने भएकी छन्।

मगर संघ यूके यूएसएसबी शाखाले आयोजना गर्न लागेको माघे संक्रान्ति विशेष कार्यक्रममा सांगीतिक प्रस्तुति दिन उनी बेलायत आउन लागेकी हुन्। बेलायतमा रहेका चर्चित लोकदोहोरी गायक मनसुधन थापाले सामाजिक सञ्जालमार्फत निराको भिसा प्रक्रिया पूरा भइसकेको जानकारी दिएका छन्। कार्यक्रममा निरा थापा मगरसँगै मनसुधन थापाको विशेष प्रस्तुति रहनेछ भने स्थानीय कलाकारहरूको पनि आकर्षक प्रस्तुति समावेश गरिनेछ।

उक्त कार्यक्रम यही जनवरी १० तारिखका दिन सामुयल कोडी स्पोर्ट्स कलेजमा आयोजना हुनेछ। कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुने आयोजकले जनाएका छन्। मगर संघ यूके यूएसएसबी शाखाका अध्यक्ष वीर बलालका अनुसार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पितृपूजा सम्पन्न गरिनेछ भने दिउँसो १ बजेदेखि राति १० बजेसम्म विविध मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रम, राफल ड्र लगायतका गतिविधि सञ्चालन हुनेछन्।

यस वर्षको माघे संक्रान्ति कार्यक्रम संयोजकको जिम्मेवारी उपाध्यक्ष गणेश बुढाथोकीले सम्हालेका छन्। कार्यक्रममा प्रवेश शुल्क वयस्कका लागि २० पाउन्ड तथा ज्येष्ठ नागरिक र बालबालिकाका लागि १५ पाउन्ड मात्रै तोकिएको सचिव धन थापाले जानकारी दिएका छन्।

कार्यक्रमलाई सफल बनाउन तयारी तीव्र गतिमा अघि बढिरहेको मगर संघ यूके यूएसएसबी शाखाका कोषाध्यक्ष गोपबहादुर सिञ्जालीले बताएका छन्।

कार्यक्रममा सहभागी हुन आयोजक मगर संघ युएचएसबी शाखा अध्यक्ष   बिर बलालले सबैलाई आव्हान गरेका छन्।