सिड्नीमा नवदुर्गा साहित्यिक कार्यक्रम सम्पन्न

सिड्नी,   सिड्नी र क्यानबेरामा बसोबास गर्ने नौ जना महिला साहित्यकारहरूले नवदुर्गाका नौ स्वरूपहरूलाई समर्पित गर्दै कविता पाठ गरेका छन्। २० सेप्टेम्बर शनिवार  सिडवेस्ट मल्टीकल्चरल सर्भिसेज, ब्ल्याकटाउन, सिड्नीमा आयोजना गरिएको यस साहित्यिक कार्यक्रममा नेपालमा भएको जेनजी आन्दोलनमा शहिद भएकाहरूको सम्झनामा मौन धारण गरिएको थियो भने उनीहरूको सम्मानमा स्वदेश गानसँगै दीप प्रज्वलन गरिएको थियो।

नवदुर्गाका प्रत्येक दिनलाई समर्पित गर्दै कविताहरू पाठ गरिएको थियो। क्यानबेराकी महता घिमिरे चापागाईंले ‘म शैलपुत्री’ कविता पाठ गरेकी थिइन् भने अनेसास एनएसडब्ल्यूकी महासचिब भावना पराजुलीले ब्रह्मचारिणीको दिन समर्पित कविता पाठ गरेकी थिइन्। यस्तै रिचा गौतम, उपन्यासकार ममता मिश्र, साहित्यकार श्वेता मैनाली, सुधिरा शाह, प्रतिज्ञा अधिकारी, प्रज्ञा पनेरु र सानु घिमिरेले क्रमशः आ-आफ्नो दिनको देवीहरूलाई समर्पित कविता पाठ गरेका थिए।

कार्यक्रममा दोस्रो पुस्ताको प्रतिनिधित्व गर्दै १२ वर्षीया मुमल श्रेष्ठले ‘नवदुर्गाको उज्यालोमा’ शीर्षककी कविता पाठ गरेकी थिइन् भने भुटानी समुदायका पाँच जना महिलाहरूले दुर्गा स्तुति गाएका थिए। अनेसास अस्ट्रेलिया, एसोसिएसन अफ भुटानीज इन अस्ट्रेलिया र ब्ल्याकटाउन नेपाली सोसाइटीको सहयोगमा लेखकहरूको अनौपचारिक समूहले यो कार्यक्रम आयोजना गरेको थियो। साहित्यकार सौरभ किरण श्रेष्ठको संयोजकत्वमा रहेको समितिले कविताहरूमा सुझाव दिएको थियो।एसोसिएसन अफ भुटानीज इन अस्ट्रेलियाकी महिला विभाग प्रमुख दिब्या श्री आचार्यले कार्यक्रम संचालन गरेकी थिइन् भने एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले कार्यक्रमलाई प्रायोजन गरेको थियो। वाचन गरिएका कविताहरू साहित्यपोस्ट डटकममा प्रकाशित गरिने आयोजकले जनाएको छ।