लन्डन । लन्डनस्थित नेपाली दूतावासमा नेपाली नारीहरुको महान पर्व हरितालिका तीज विशेष कार्यक्रम भएको छ ।राजदूत चन्द्र कुमार घिमिरेलकी धर्मपत्नी सरिता न्यौपाने घिमिरेले शुक्रबार आयोजना गरेको उक्त कार्यक्रममा झण्डै एकसय जना दिदीबहिनी सहभागी भए ।
कार्यक्रममा दूतावासले चेलीहरुलाई दर ख्वाएर तीजको शुभकामना दिएको थियो ।प्रमुख अतिथी श्रीमति घिमिरेले तीजको शुभकामना दिंदै प्रवासमा पनि नेपाली चाडपर्व र कला संस्कृति जगेर्नामा जोड दिइन् ।
दूतावास भवनमा आयोजित कार्यक्रममा बेलायतस्थित नेपाली संघसंस्थाका महिला प्रमुख, कलाकारहरु र अन्य सर्वसाधारण महिला सहभागी भएर उल्लासमय वातावरणमा तीज मनाए ।
कार्यक्रमकी प्रमुख आकर्षण लोकप्रिय गायिका कोमल वलीको गीतमा नाचगान गरेर सहभागीले तीज धुमधामसंग मनाए ।
सो अवसरमा नेपालबाटै आएका गायक देउडा सम्राट नन्दकृष्ण जोशी र लन्डनवासी गायिका सितु खरेलको प्रस्तुत थप आकर्षण रहे । गायिका वलीले राजदूतसहित दूतावासका सम्पूर्ण कर्मचारीलाई स्टेजमा डाकेर खुबै नचाइन्।
कार्यक्रममा राजदूत पत्नी सरिता न्यौपाने घिमिरेले सबैलाई स्वागत मन्तव्य दिंदै हरितालिका तीजको शुभकामना दिइन् । आफ्नो निमन्त्रणामा दूतावासलाई माइती सम्झेर दर खान र रमाइलो गर्न आएकामा सबैप्रति उनले आभार पनि व्यक्त गरिन् ।
उनले वाल्यकालको तीज र यसको महत्व समेत स्मरण गर्दै ‘आमा टाढा छु है म, यस पाली तीजमा आउन सकिन…विदेशी भूमिमा कर्म गर्दैछु…’ शब्दमा आफ्नो भावना प्रस्तुत गरेकी थिइन् ।
न्यौपानेले महिलामाथि हुने अनेक खालका विभेद, हिंसा अन्त्य गरि महिला सशक्तिकरणमा जोड दिइन् । नेपाली कला, संस्कृतिबारे जोड दिंदै उनले भड्किलो नबनाइ तीजको मौलिकता जोगाउन पनि आग्रह गरिन् ।

गायिका कोमल वलीले विश्वभरका नेपालीहरुलाई तीजको शुभकामना दिंदै हिंसारहित, सुखमय जीवनको कामनासहित हरेक महिलामा खुशी छाइरहोस् भन्ने शुभकामना दिइन् । उनले तीजको महत्व र यसको ऐतिहासिक एवं धार्मिक पक्षमा समेत प्रवचन दिइन् ।
राष्ट्रिय सभा सदस्य समेत रहेकी गायिका वलीले डिप्लोमेसीको महत्वमाथि प्रकाश पार्दै यसमा राजदूत घिमिरेले राम्रो भूमिका निर्वाह गर्ने आशा व्यक्त गरिन् ।
राजदूत घिमिरेले पनि शुभकामना दिंदै दूतावासको आंगनमा नेपाली चेलीहरुलाई स्वागत गर्न पाउंदा खुशी लागेको बता।

उक्त कार्यक्रम नेपलिज वुमन एसोसिएन यूके महासचिव प्रसुना कंडेलले सञ्चालन गरेकी थिइन् ।
सो अवसरमा सहभागीको सामूहिक नृत्यसंगै १३ वर्षीया बीबी बुढाथोकीले ‘तीजको लहर आयो बरिलै…’ मा आकर्षक नाच प्रस्तुत गरेकी थिइन् । 



















