
नेपालको सुदुरपश्चिम क्षेत्रमा मनाईने गौरा पर्वलाई अस्ट्रेलियामा रहेका नेपालीहरुले पनि धुमधामका साथ मनाएका हुन् । उक्त अवसरमा सुदुरपश्चिम क्षेत्रमा प्रख्यात देउडा नृत्य, हुड्खेली नृत्य, नेपाली मौलिक खानाका परिकार, बाल उद्यान सहित गौरा नृत्य र नेपालका चर्चित कलाकारहरुले आफ्नो सागींतिक प्रस्तुती दिएका थिए ।
समाजका अध्यक्ष लक्ष्मी जोशीले स्वागत मन्तव्य प्रस्तुत गर्दै कार्यसमिति र समाज सँग जोडीएका सबै साथीहरुको साथले भव्य रुपमा सबैको साथ र सहयोगबाट कार्यक्रम सम्पन्न भएको बताए ।कार्यक्रममा स्थानीय कलाकाहरुलाई विशेष महत्व दिई खर्च कम गर्ने र बँचेको खर्चले घरदेशमा सहयोग गर्ने उद्धेश्य रहेको उनको भनाई छ ।
लायन्स कुजी क्लबकी अध्यक्ष सारी इली क्रेमरले नेपालमा पनि क्लव मार्फत विभिन्न कार्यक्रम गर्दै आएको भन्दै समाजसंग पनि सहकार्य गरेर धनगढीमा सहयोग गर्न लागिएको वताइन । कार्यक्रममा एनआरएनए निवर्तमान अध्यक्ष नन्द गुरुङ, प्रवासी एकता मञ्चका अध्यक्ष केशव जोशी, एन्टाका अध्यक्ष रञ्जित शाह, एनआरएनए आईसीसी सदस्य अरुण ठाकुर, पूर्व नारी निकुञ्ज संयोजक सन्ध्या साह लगायत समाजका लब्धप्रतिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो । उक्त अवसरमा धार्मिक अनुष्ठान, पूजाआजाका साथ हुडाखेली नृत्यका साथै देउडा गीत र मौलिक खानाका परिकार सहित विभिन्न रमाईलो कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा देउडा गायक गायिका केशव राज गिरी, राधिका बोहोरा सहितका कलाकारहरुको विशेष सांगीतिक प्रस्तुती सहित देउडा गीत प्रस्तुत गरेका थिए । 







