काठमाडौँ — सभामुख देवराज घिमिरेसँग बेलायती राजदूत रोब फेनले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा मंगलबार भएको भेटमा बेलायतसँग नेपालको सहकार्य, संसदीय अनुभव आदानप्रदान तथा द्विपक्षीय हितका विषयमा छलफल भएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।
सभामुख घिमिरेले नेपाल र बेलायतबीच सदियौँदेखि घनिष्ट सम्बन्ध रहेको बताउँदै नेपाल र बेलायतबीच रहेको राजनीतिक सम्बन्ध, आर्थिक तथा सांस्कृतिक सम्बन्ध तथा जनस्तरमा कायम मित्रता अद्वितीय रहेको उल्लेख गरेका थिए । सभामुखले सन् २०१६ मा नेपाल–बेलायत कूटनीतिक सम्बन्ध स्थापनाको २ सय वर्ष मनाएको स्मरण गर्दै यो वर्ष दुई देशबीच मैत्री सन्धि सम्पन्न भएको एक सय वर्ष मनाउँदै गरेको बताए । ‘आपसी सम्बन्धहरू हरेक दिन थप प्रगाढ हुँदै गएको प्रति म खुशी व्यक्त गर्दछु,’ सभामुखले भनेका थिए, ‘नेपाल र बेलायतबीच लोकतन्त्र, संसदीय व्यवस्था, कानुनी शासन, मानव अधिकारका साझा मूल्य–मान्यता रहेका छन् । यी विषयमा बेलायतको लामो र समृद्ध अभ्यास र इतिहास रहेको छ। नेपालको लागि बेलायती अभ्यास एवं अनुभव अनुकरणीय रहदैँ आएको छ ।’
सभामुख घिमिरेले राजनीतिक स्थायित्वसँगै नेपालले विकास, समृद्धि र सुशासनको पथमा गति लिएको समेत बताएको समामुखको सचिवालयले जानकारी दिएको छ । ‘नेपाल सरकारको निकट भविष्यमा अति कम विकसित राष्ट्रको सूचीबाट स्तरोन्नती भई सन् २०३० सम्म मध्यम आय भएको राष्ट्र बन्ने लक्ष्य रहेको छ । नेपालको यस विकास प्रयासमा बेलायतको निरन्तर सहयोगको आवश्यकता रहेको छ,’ सभामुखको भनाइ थियो ।
२०१५ र हालै पश्चिम क्षेत्रमा गएको भूकम्प तथा कोभिड नियन्त्रणका लागि उदार भावनाका साथ नेपाललाई राहत सामग्री र खोप उपलव्ध गराएकोमा सभामुखले बेलायत सरकारप्रति आभार व्यक्त गरेको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । संसदीय मैत्री समूहमार्फत दुई देशबीच संसदीय आदान प्रदानमा पनि सभामुखले जोड दिएको अधिकारीको भनाइ थियो ।
बेलायती राजदूत रोबले नेपालले आगामी दिनमा नेपालको जनशक्तिलाई स्वदेशमै राखेर विकासलाई तीव्रता दिने विश्वास व्यक्त गरेका थिए । बेलायतले आगामी दिनमा पनि विकास सहायतालगायतका विषयमा नेपाललाई दिँदै आएको सहयोग वृद्धि गर्ने तयारी गरिरहेको राजदूत रोबको प्रतिबद्धता थियो ।






