चन्दको बयान आजबाट

काठमाडौं, १४ असार । सञ्चार उद्यमी जमिम शाहको हत्यामा योजनाकार भनिएका नेपाल प्रहरीका पूर्वडीएसपी जगदीश चन्दलाई प्रहरीले आइतबार काठमाडौं जिल्ला अदालतमा पेस गरेको छ। अदालतले सोमबारबाट उनको बयान लिने भएको छ। भारतीय अन्डरवल्र्डका बब्लु श्रीवास्तवको समूहसँग मिलेर जमिमको हत्याका लागि नेपालमा संयोजनको भूमिका निर्वाह गरेको भनिएका चन्दलाई पक्राउ गर्न इन्टरपोलमार्फत रेडकर्नर नोटिस जारी गरिएको थियो। चन्दलाई महानगरीय प्रहरी अपराध महाशाखाले शनिबार पक्राउ गरेको थियो।
महाशाखाले सुरुमा चन्दलाई सार्वजनिक गर्ने भनिए पनि काठमाडौं प्रहरी परिसरले अदालतमा मुद्दा बुझाउँदा फरार प्रतिवादी कायम गरिसकेका कारण सार्वजनिक गरेन। भारतको लखनउमा लुकिछिपी बस्दै आएका चन्द पत्नी बिरामी भएपछि केही दिनअगाडि मात्रै मीनभवनस्थित घरमा आएका थिए। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले घरबाटै उनलाई पक्राउ गरेको थियो। ‘चन्द जमिम शाहको हत्यापछि भारत र काठमाडौंमा लुकीछिपी ओहोरदोहोर गरिरहेको सूचना हामीले पाएका थियौं। मीनभवनस्थित घरमा आएको सूचना पाएपछि हामीले एम्बुस थापेर समातेका हौं’, महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले भने।