गुल्मी, ९ असार । नेपाल तरुण दल गुल्मी क्षेत्र नं ३ ले गुल्मी केयर विश्व सञ्जाल परिवारलाई सम्मान गरेको छ । गुल्मी केयर विश्व सञ्जालले जिल्लाका भूकम्पपीडित ५०औँ घरधुरी विपन्न परिवारलाई पुनर्वास कार्यक्रम सञ्चालन र असहायको उद्धारसमेत गर्दै आएको भन्दै एक समारोहबीच सञ्जाललाई सम्मान गरिएको हो ।
तरुण दलको तर्फबाट नेपाली काँग्रेस गुल्मीका पूर्व जिल्ला सभापति त्रैलोक्यप्रताप सेनलगायतले सञ्जालकी सह–कोषाध्यक्ष राधिका कुँवर, जिल्ला प्रतिनिधि प्रेम सुनार, तारा भुसाल र नारायणप्रसाद भण्डारीलाई दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।
सम्मान कार्यक्रममा सभापति सेन, नेपाली काँग्रेसका जिल्ला सचिव विष्णु वलाल, सहसचिव हरि केसी, नेपाल तरुण दलका जिल्ला सभापति खिलध्वज पन्थी, क्षेत्रीय सभापति चुराबहादुर खत्रीलगायतले सञ्जाल परिवारको परोपकारी कार्यको सराहना गर्नुभयो ।
तरुण दलले हस्तीचौर–२ हर्पुकोट निवासी सुकुम्बासी सीता विश्वकर्माका परिवारलाई कार्यकर्ता परिचालन गरेर घर बनाई दिएको छ । उक्त घर छाउने जस्तापाता तरुण दलले सञ्जालसँग आग्रह गरेपछि उपलब्ध गराएको हो । सोही परिवारलाई कतारमा कार्यरत दर्लामचौर र हस्तीचौरका युवाले पठाएको रकममध्येबाट रु सात हजार मूल्य बराबरको खाद्यान्नसमेत हस्तान्तरण गरियो ।
तरुण दलद्वारा गुल्मी केयरलाई सम्मान






