शिव भण्डारी
लन्डन । बेलायतको नेपाली समुदायमा परिचित समाजसेवी धनबहादुर सार्की काउन्सिलरमा विजयी भएका छन् ।
भूतपूर्व गोर्खा, समाजसेवी तथा व्यवसायी सार्की नेपालीहरुको उल्लेख्य बसोबास भएको रसमोरको वेलिङटन वार्डबाट काउन्सिलर जितेका हुन्। 
रसमोर बरो काउन्सिलमा लेबर पार्टीबाट काउन्सिलर उम्मेदवार बनेका उनी पहिलो नेपाली हुन् ।रसमोरमा कन्जरभेटिभ पार्टीबाट नेपालीमूलका उम्मेदवार भएपनि लेबरबाट सार्की पहिलो नेपाली उम्मेदवार थिए । उनी विगत ५ वर्षदेखि लेबर पार्टीमा आवद्ध छन् ।
बिहीबार सम्पन्न निर्वाचनको परिणाम अनुसार सार्कीले ६५२ मत ल्याएर विजयी भएका छन् । कञ्जरभेटिभ पार्टी उम्मेदवार मेरी आनले ४१४ मत प्राप्त गरेकी हुन्, सार्कीले २३८ मतले जित हात पारेका छन् ।
बेलायतको नेपाली समुदायमा समाजसेवामै तल्लीन काउन्सिलर सार्कीले अबको यात्रा राजनीतिबाट भएपनि सेवा समुदायकै लागि गर्ने अठोट व्यक्त गरे । आफ्नो वडाको विकास निर्माण र स्थानीय जनतालाई सेवा सुविधा प्रदान गर्न आफ्नो कार्यकाल खर्चने काउन्सिलर सार्कीले लन्डन नेपाल न्यूजसंग बताए ।
सार्की नेपाली वेलफेयर सोसाइटी यूकेका अध्यक्ष हुन्, कोभिड महामारीको समयमा उनले गरेको मानवीय सेवामूलक कामले चर्चा बटुलेका थिए।उनले पोस्ट अफिस व्यवसाय संचालन गर्दै आएका छन्,एनआरएनए यूके सदस्यमा भारी मतले निर्वाचित भएका उनी लामो समयदेखि एनआरएनएका अभियानता हुन् । यद्यपि उनको समाजसेवा लगाव घटेको छैन्।
उनले आफूलाई काउन्सिरमा निर्वाचित हुनका लागि पूर्व र वर्तमान काउन्सिरहरु, पूर्वगोर्खाहरु, पत्रकार, शुभेच्छुक, शुभचिन्तक र परिवारप्रति आभार र धन्यवाद व्यक्त गरेका छन् ।






