लन्डन – गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष कुल आचार्य बेलायतका एक प्रमुख उद्योगपति, लर्ड करण बिलिमोरिया, लाई नेपाल भ्रमण गर्न निम्तो दिएका छन्।
लर्ड बिलिमोरियासंगको भेटमा उनले निम्तो दिएका हुन्।
भेटमा बेलायतमा लोकप्रिय कोब्रा बियरका संस्थापक तथा अध्यक्ष लर्ड बिलिमोरियाले ब्रिटिश व्यवसायीहरु नेपालमा लगानी गर्न इच्छुक रहेको बताएका थिए ।
कन्फेडरेशन अफ ब्रिटिश इन्डस्ट्रिजका उपाध्यक्ष पनि रहेका लर्ड बिलिमोरियाले आउँदो वर्ष नेपालको भ्रमण गर्ने आफ्नो योजना पनि सुनाए। उक्त अवसरमा अध्यक्ष आचार्यले नेपाल सरकारले विदेशी लगानी भित्र्याउन विभिन्न नीतिहरु ल्याएको र अब आउने नयाँ सरकारले तिनलाई निरन्तरता दिने आफुहरुले अपेक्षा गरेको बताएका थिए।
नेपालमा जल विद्युत, बैंकिंग, पूर्वाधार, सूचना प्रविधि, शिक्षा तथा स्वास्थ्य जस्ता क्षेत्रमा लगानीको प्रशस्त सम्भावना रहेको र त्यसका लागि ब्रिटिश व्यवसायीहरुसंग एउटा बैठक राख्न आचार्यले आग्रह गरेका थिए।
गैरआवासीय नेपाली संघ, नेपाल उद्योग वाणिज्य महासंघ तथा नेपाल उद्योग परिसंघ संगको सहकार्यमा आयोजना गरिने उक्त बैठकलाई नतिजामुखी बनाउन संघले लगानी बोर्ड, लन्डनस्थित नेपाली दूतावास, काठमाडौँस्थित ब्रिटिश दूतावास, नेपाल ब्रिटेन च्याम्बर अफ कमर्श, ब्रिटेन नेपाल च्याम्बर अफ कमर्श लगायतका संस्थाहरुसंग सहकार्य गर्ने आचार्यले जानकारी दिएका थिए।
उक्त बैठकमा आफु र सीबीआइका पदाधिकारीहरु भाग लिन इच्छुक रहेको लर्ड बिलिमोरियाले बताए।
लर्ड बिलिमोरियाको नेपाल सम्बन्ध
शुक्रबार सेन्ट्रल लन्डनमा झन्डै दुइ घण्टा लामो भेट वार्तामा संघका अध्यक्ष आचार्यले नेपाल र बेलायतबीच २०० वर्ष भन्दा पुरानो ऐतिहासिक सम्बन्ध रहेको र गोर्खा सैनिकहरुका कारण दुवै देश को सम्बन्ध अभूतपूर्व रहेको बताएका थिए।
“बेलायतमा भूतपूर्व गोर्खा सैनिक, उहाँहरुका परिवार लगायत झन्डै डेढ लाख नेपाली समुदाय बसोबास गरिरहेको र विभिन्न पेशा तथा व्यवसायमा संलग्न रहेको मैले उहाँलाई बताएँ,” आचार्यले भने।
लर्ड बिलिमोरियाले आफु आफ्ना पितासंग नेपालको भ्रमण गरेको स्मरण गर्दै आफुले नेपाली र गोर्खाहरुलाई अत्यन्तै मन पराउने बताएका थिए। उनले आफुले बाल्य कालमै भीसी गजे घले तथा भीसी अगन सिंह राईलाई भेटेको सम्झना पनि गरे। उनका पिता भारतीय सेनाका लेफ्टिनेंट जनरल स्वर्गीय जनरल फरिदून बिलिमोरियासंग सन् १९७१ को बंगलादेशको स्वतन्त्रता संग्रामको बेला गोर्खा ब्रिगेडका कमान्डर थिए।

‘नेपाल तथा युकेबीच व्यापार, पर्यटन र लगानी अभिवृद्धि गर्न संस्थागत र व्यक्तिगत रुपमा मैले हरसम्भव प्रयास गर्नेछु’- ब्रिटिश संसदको माथिल्लो सदन हाउस अफ लर्ड्सका सदस्य समेत रहेका लर्ड बिलिमोरियालाई उद्धृत गर्दै आचार्यले भने।
उक्त भेटघाटमा आचार्यले लर्ड बिलिमोरियालाई खादा लगाई दिनुका साथै नेपालमा उत्पादित खुकुरी रम उपहार दिएका थिए।






