काठमाण्डौ । बलात्कार अभियोगमा थुनामा रहेका अभिनेता पल शाह प्रकरणमा पीडित भनिएकी नाबालिग गायिकाले बयान फेरेकी छन् ।
जिल्ला अदालत तनहुँ र नवलपुर दुवैको आदेशले पुर्पक्षका लागि थुनामा गएका नाबालिगले ‘होस्टाइल’ हुँदै बयान फेरेकी हुन् । अदालतले थुनछेक आदेशपछि बकपत्र गराइरहेको छ । त्यसक्रममा जिल्ला अदालत तनहुँमा जारी बकपत्रका क्रममा पीडित भनिएकी नाबालिगले बयान फेरेकी हुन् ।
स्रोतका अनुसार उनले आफूलाई पलबाट बलात्कार नभएको बताउँदै प्रभाव र दबाबमा परेर त्यस्तो आरोप लगाएको अदालतसमक्ष बताएकी छन् । पललाई गत चैत २३ गते जिल्ला अदालत नवलपुरले पनि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।
थुनछेक बहसपछि जिल्ला न्यायाधीश अर्जुन अधिकारीको इजलासले पुर्पक्षका लागि तनहुँ कारागारमै पठाउन आदेश दिएको थियो । अदालतको आदेशपछि अहिले उनलाई त्यसअघि आदेश भएको तनहुँ कारागार लगिएको थियो ।
अब नवलपुर अदालतमा शाहको बकपत्रका वैशाख ७ गते हुँदैछ । त्यसअघि तनहुँमा आइतवारदेखि बकपत्र भएको हो । नाबालिग गायिका बलात्कारको आरोपमा उनलाई त्यसअघि जिल्ला अदालत तनहुँले पनि चैत १० गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । उनी कारागार कार्यालय तनहुँमा थिए ।
२०७८ वैशाख १४ गते तनहुँमा नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा उनीविरुद्ध जाहेरी परेको थियो । गत फागुन १५ गते आफैं प्रहरी कार्यालय पुगेर आत्मसमर्पण गरेका शाहविरुद्ध मंगलबार जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।
तिनै गायिकाले गैँडाकोटमा पनि आफूमाथि बलात्कार गरेको आरोप लगाउँदै जाहेरी दिएपछि जिल्ला अदालत नवलपुरमा पनि मुद्दा दर्ता भएको थियो । शाहलाई १२ देखि १४ वर्ष कैद र ४ लाख रुपैयाँ जरिवाना माग गर्दै जिल्ला सरकारी वकिल कार्यालय नवलपुरले चैत ३ गते मुद्दा दायर गरेको थियो ।
तनहुँ अदालतबाट भएको आदेशविरुद्ध उनले उच्च अदालत पोखरामा पुनरावेदन गरिसकेका छन् । उनको निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतले यससम्बन्धी कैफियत प्रतिवेदन झिकाइसकेको छ ।






