काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन आगामी डिसेम्बर १९ र २० मा हुने अध्यक्ष कुमार पन्तले जानकारी दिएका छन् ।
उनले एक विज्ञप्ती जारी गर्दै विभिन्न विवादको कारण स्थगन गरिएको महाधिवेशन र निर्वाचनको मिति सार्वजनिक गरेका हुन् ।
उनका अनुसार आगामी डिसेम्बर १९ र २० मा महाधिवेशन हुने तथा नयाँ नेतृत्व चयनका लागि निर्वाचन डिसेम्बर १५ मा चुनाव हुने भएको छ ।
‘विश्वभरि फैलिएका गैरआवासीय नेपालीहरुले उत्साहका साथ तयारी गरिरहेको संघको महाधिवेशन तथा अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को निर्वाचन प्रक्रिया स्थगित गर्न परराष्ट्र मन्त्रालयबाट १० सेप्टेम्बरमा पत्र प्राप्त भएपछि मन्त्रालय र संघबीच पटक पटक औपचारिक तथा अनौपचारिक छलफल भएका छन् ।’, उनले विज्ञप्तीमा भनेका छन्, ‘संघले प्रस्तुत गरेको मार्गचित्रमा माननीय मन्त्री ज्यूबाट प्राप्त सकारात्मक प्रतिक्रिया र संघका विभिन्न बैठकले गरेका औपचारिक निर्णयहरुको आधारमा १० औं अन्तर्राष्ट्रिय महाधिवेशन आगामी डिसेम्बर १९ र २० मा अयोजना गरिनेछ तथा संघको नयां कार्यसमितिको नेतृत्वका लागि निर्वाचन डिसेम्बर १५ तारिखका दिन तोकिएको जानकारी गराइन्छ ।’
विभिन्न विवादहरुको उजुरीहरु परराष्ट्र मन्त्रालयमा गएसँगै मन्त्रालयले एनआरएनएलाई निर्वाचन स्थगन गर्न भनेको थियो । सोही आधारमा महाधिवेशन स्थगन गरिएको थियो ।
यद्यपि अझै पनि विवादहरु बाँकी नै रहेको कारण निर्वाचन हुनेमा शंका रहेको एनआरएनहरुले बताएका छन् ।







