शिब भण्डारी ।
लण्डन । नेपाल सरकारले बेलायतको लागि नेपाली राजदूतमा ज्ञानचन्द्र आचार्यलाई सिफारिस गरेको छ ।
विहिबार बसेको मन्त्रिपरिषद बैठकले आचार्यलाई नयाँ राजदूत नियुक्ती गर्न सिफारिस गरेको हो ।
यसअघि तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले पठाएका राजदूत लोकदर्शन रेग्मीलाई फिर्ता बोलाएको थियो । उनी स्वदेश आएसँगै नयाँ राजदूतमा आचार्यको नाम सिफारिस भएको हो ।
आचार्य संयुक्त राष्ट्रसंघका पूर्वउपमहासचिव हुन् । यसअघि देउवा प्रधानमन्त्री हुँदा आचार्य आर्थिक सल्लाहकार भएका थिए । हाल लण्डनस्थित नेपाली राजदूतावासमा उपनियोग प्रमुख रहेकी रोशन खनालले कार्यवाहक राजदूतको भूमिका निर्वाह गरिरहेकी छन् ।
त्यस्तै नेपाल सरकारले भारतका लागि डा. शंकर शर्मा र अमेरिकाका लागि श्रीधर खत्रीलाई राजदूत बनाउन सिफारिस गरेको छ ।
मन्त्रिपरिषदले सिफारिस गरेको नाम राष्ट्रपतिबाट अनुमोदन भएपछि मात्रै राजदूतले नियुक्ती पाउने भएका छन् ।
प्रधानमन्त्री शेर बहादुर देउवाको बेलायत भ्रमणलक्षित गरेर तीन ठूला देशका लागि राजदूत नियुक्त गरिएको बताइएको छ । राजदूतमा सिफारिस भएका आचार्य प्रधानमन्त्री देउवासँगै बेलायत भ्रमणमा सहभागी हुने बताइएको छ । प्रधानमन्त्री देउवा भोली बेलायत आउँदैछन् ।
को हुन् बेलायतका लागि नेपाली राजदूत सिफारिस भएका ज्ञानचन्द्र आचार्य ?
राष्ट्र संघका महासचिव बान की मूनले उनलाई सन् २०१२ अगस्ट १४ मा संयुक्त राष्ट्रसंघका पूर्वउपमहासचिव नियुक्त गरेका थिए ।
आचार्य यसअघि संयुक्त राष्ट्रसंघमा नेपालको स्थायी प्रतिनिधि भइसकेका थिए । नेपाली विदेश सेवाका एक अनुभवी कूटनीतिज्ञ, उनले विभिन्न वैदेशिक मुद्दाहरूमा काम गरे।
उनी अल्पविकसित देशहरूको समूहको विश्वव्यापी समन्वय ब्यूरोका अध्यक्ष पनि थिए र अल्पविकसित राष्ट्रहरूको चौथो संयुक्त राष्ट्र सम्मेलनको सफल समापन र अनुगमन प्रक्रियामा योगदान पुर्याएका थिए ।
२०१० देखि २०११सम्म उनी शान्ति निर्माण आयोगको लेसन लर्नेडको कार्य समूहको अध्यक्ष पनि भए । उनी भूपरिवेष्ठित विकासशील देशहरूको ब्यूरोको सदस्य र सामाजिक विकास आयोगको अध्यक्ष पनि भए ।
सन् २००३ देखि २००७ सम्म आचार्य जेनेभामा संयुक्त राष्ट्रसंघ र विश्व व्यापार संगठनमा नेपालको प्रतिनिधि थिए। उनी सन् २००७ देखि २००९ सम्म नेपालको विदेश सचिव थिए । यसअघि देउवा प्रधानमन्त्री हुँदा आचार्य आर्थिक सल्लाहकार समेत भएका थिए ।
आचार्यले काठमाडौंको त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरे । काठमाडौं जन्मस्थान रहेका उनका श्रीमतिसहित दुई सन्तान छन् । (विकिपिडयाको सहयोगमा)






