लण्डन । चार्ल्टन नेपाली समाज यूकेले आयोजना गरेको दशैं विशेष कार्यक्रम ‘दशैं तिहार शुभकामना साँझ’को तयारी ब्यापक बन्दै गएको छ ।
नयाँ कार्यसमितिको पहिलो कार्यक्रमको रुपमा २४ अक्टोबर आईतबारको दिन साँझ ६ देखि ११ बजेसम्म मेरिडेयन स्पोर्ट्स एण्ड सोसल क्लब स्थित चाल्टर्नमा सो कार्यक्रम हुन लागेको छ ।
नेपालीहरुको महान् पर्व दशैं घरमा भित्राइसकेको अवस्था र दोस्रो ठूलो चाड मानिने तिहार भित्राउने तरखर रहेको अवस्थामा समाजले यूकेका नेपालीहरुलाई पर्वमय अनुभव गराउने उदेश्यले आयोजना गरेको उक्त कार्यक्रमको तयारी तिव्र भएको हो ।

समाजका उपाध्यक्ष प्रकाश कंडेलले उक्त कार्यक्रममा स्वादिलो खाना, चर्चित डिजे, र सुन्दर नाँचहरुको बेजोड समिश्रण रहने भएकोले विशेष मनोरञ्जनात्मक हुने बताए । कोभिड महामारीलाई बिर्सदै यसपटकको दशैंलाई रोचक बनाउनेगरी कार्यक्रम गर्दैछौं, त्यसैले सबै नेपालीहरु मिलेर यस पर्वलाई स्मरणीय हुने विश्वास लिएका छौ, उनले भने ।
टिकट स्पोन्सर याक एण्ड यति रेष्टुरेन्टका प्रवन्ध निर्देशक भोजराज कंडेलले गरेका छन् भने एडल्टहरुको लागि १२ पाउण्ड, ५ बर्षदेखि ११ बर्षसम्महरुका लागि ७ पाउण्ड तोकिएको छ । ५ बर्षमुनीका बच्चाहरुलाई निशुल्क प्रवेश दिइनेछ । हरेक बर्ष नेपाली नयाँ बर्षको कार्यक्रम, ओपन बार बि क्यू ,दशैं तिहार तथा तीज विशेष कार्यक्रमहरु गर्दै आएको यस समाजले नेपाल र नेपालीको कल्याणको निम्ती निरन्तर कामहरु गर्ने बताएको छ ।
त्यस्तै समाजका महासचिव टि.एन.रिजालले यस कार्यक्रमलाई भव्यताका पूर्वक सम्पन्न गर्नेगरी तयारी अघि बढाइएको भन्दै साउथ ईष्ट तथा बेलायतबासी सबैलाई सहभागिताको निम्ती अनुरोध गरे । नेपालीहरुको उल्लेख्य बसोवास रहेको चार्ल्टन क्षेत्रमा रहेका नेपालीहरु मिलेर गठन गरिएको चाल्टर्न नेपाली समाज यूकेमा एक महिना अघि पहिलो पटक महिला अध्यक्षको रुपमा रेखा खरेल चयन भएकी थिइन ।
अध्यक्ष खरेलले चाल्टर्न नेपाली समाजले विभिन्न पर्वविशेषहरुमा यसप्रकारका कार्यक्रमहरु गर्ने गरिएको बताउँदै यसपटक महामारीलाई जितेर अघि बढ्ने सन्देशको रुपमा पनि कार्यक्रमलाई लिइएको बताउदै समाजका अग्रज, समुदायका अगुवा, प्रतिष्ठित व्यक्तिहरु, संस्थाका प्रतिनिधिहरु, पत्रकारलाई सहभागिताको निम्ती अनुरोध गरिएको अध्यक्ष खरेलले लण्डन नेपाल न्युजलाई बताईन् ।
जसको उपाध्यक्षहरुमा प्रकाश कंडेल र सीता अर्याल, महासचिब टि.एन. रिजाल, सचिब आनन्द लोहनी, कोषाध्यक्ष राम पाण्डे, सहकोषाध्यक्ष दिल जिसि तथा सदस्यहरुमा माधब श्रेष्ठ, सिता ढकाल, धन बहदुर लामा,दानमाया महर्जन, बसन्त खनाल, कृष्ण भण्डारी, स्मारिका पाण्डे, किरण सापकोटा रहेका छन् ।
समाजले आयोजना गरेको उक्त कार्यक्रममा सहभागि हुन यहाँ रहेको नेपालीहरु आत्तुर रहेको बताएका छन् । दशैं तिहारको रोनक आउने गरी चार्ल्टनमा हुन लागेको सो कार्यक्रमले नेपालीहरुमा एकताको सन्देश प्रवाह हुने विश्वास लिइएको छ ।






