एनआरएन केन्द्रिय अध्यक्षमा रबिना थापाले आज काठमाडौंबाट उम्मेद्वारी घोषणा गर्दै

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनमा वर्तमान उपाध्यक्ष रविना थापाले औपचारिक रुपमा अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गर्न लागेकी छन् । विहिबार काठमाडौंको याक एन्ड यति होटलमा एक पत्रकार सम्मेलन आयोजना गरी एनआरएनए आईसीसीको लागि आगामी अक्टोवर २० तारिखमा हुन लागेको निर्वाचनमा उनले अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गर्ने भएकी हुन् ।

गत अधिवेशनमा उपाध्यक्षहरुमध्ये सबैभन्दा बढी र अध्यक्ष भन्दा पनि बढी मत ल्याउन सफल थापाले संघको इतिहासकै पहिलो महिला नेत्री बन्ने अभियानमा लागेकी छन् । वर्तमान केन्द्रीय उपाध्यक्ष समेत रहेकी थापाले नागरिकताको निरन्तरता, सम्पति माथिको अधिकार, नयाँ पुस्ता, नेपालमा लगानी, विदेशबाट मताधिकार लगायतका अजेण्डासहित आफ्नो घोषणापत्र सार्वजनिक गर्दैछिन् ।

नेपाली नागरिकताको निरन्तरता, सम्पति माथिको अधिकार, विदेशमा जन्मिएका नयाँ पुस्ताहरुलाई नेपालसँग जोड्न भैरहेको प्रयास, मातृभूमीको विकासमा लगानी जुटाउने प्रयास, विदेशस्थित नेपालीहरुलाई दिइने मताधिकारको कार्यान्वयन र एनआरएनए नेतृत्व चयनमा प्रत्यक्ष निर्वाचनको सुनिश्चितता गर्ने लगायतका एजेन्डाहरु उठाएकी छन् । उनले विगत २० बर्षदेखि प्रवासमा रहेर नेपालीको हक अधिकारका लागि निरन्तर रुपमा संघर्षरत थापाले आफ्नो सोही कार्यको अब्बल निरन्तरताको निम्ती उम्मेद्वारी घोषणा गर्न लागेको लण्डन नेपाल न्यूजलाई बताइन् ।