लण्डन । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरस अर्थात कोभिड १९ महामारी नियन्त्रण गर्न सिद्धबाबाले नेपालमा भर्चुअल रुपमा विशेष कार्यक्रम गर्ने भएका छन् ।
विगतमा पितापूर्खाहरुले पनि कोरोना जस्ता महामारीवाट जनमानसलाई बचाउन पूर्विय दर्शनमा आधारित वेदिक पद्धति अनुसारको आहार–विहार, योगासन, प्राणायाम र सकारात्मक चिन्तन सहित विभिन्न अनुष्ठानहरु गर्ने गरेको भन्दै महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान भक्तपुर तथा जगतगुरु रामानान्दाचार्य सेवा पीठ चतराधामको संयुक्त आयोजनामा अनुष्ठान गर्न लागिएको हो ।
सुनसरीको चतरामा गरिने विशेष अनुष्ठानमा सहभागि हुने अनुष्ठानीहरुमा प्रतिरोधात्मक क्षमताको विकास गराउने विषयमा विशेष प्रशिक्षण गराइने छ भने सामाजिक सञ्जाल फेसबुक, युट्युव लगायत केही सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रशारण गराइ भर्चुअल माध्यमबाट लाखौ नेपालीहरुलाई सहभागि गराउने अपेक्षा लिइएको छ ।
संक्रमणबाट बच्न सफल व्यक्तिहरुलाई भविष्यमा कोरोना लाग्नवाट बचाउन र केहि गरि संक्रमण भइहाले संक्रमितको जीवन रक्षा गर्न विश्व स्वास्थ्य संगठनको निर्देशन पालन गर्दै र नेपाल सरकारको लक्डाउन नीतिलाई अबलम्बन गर्दै जगदगुरु महायोगी सिद्धबाबाको सत्संकल्प र आव्हानमा जगदगुरु रामानन्दाचार्य सेवा पिठ चतराधाम, सुनसरीले पूर्खाले अपनाउने गरेको पूर्विय दर्शनमा आधारित त्यहि वेदिक पद्दति अनुसारको १५ दिने हिमालयन सिद्धमहायोगानुष्ठानको आयोजना गर्ने भएको हो ।
अनुष्ठानको मुख्य उद्धेश्य सम्पूर्ण नेपालीहरुका लागि स्वास्थ्यवर्धक दिनचर्य, भोजनचर्य र योगाचरणको अबलम्बन गराई व्यक्तिको सर्बाङ्गिण विकासका लागि चाहिने स्वस्थ शरीर, स्वस्थ एवं शान्त मन, स्वस्थ एवं शान्त चित्त र आत्मिक प्रशन्नता कायम गराउने र अनुष्ठानीहरुको शरीरमा कोरोना भाइरसको संक्रमणसंग लड्न सक्ने प्रतिरोधात्मक क्षमाताको विकास गराई जीवन रक्षा गर्नमा सहयोग पुर्याउनु रहेको आयोजकले बताएका छन् ।
जगदगुरु महायोगी सिद्धबाबाका अनुसार अनुष्ठानमा सिकाइएको विधिलाइ पूर्णरुपमा अनुसरण गरेर गर्न सक्ने हो भने कोरोनावाट बच्न सकिनेछ ।
तसर्थ यो अनुष्ठानको उद्देश्य, अनुष्ठानमा गरिने कार्यक्रम, अनुष्ठानका लागि सहभागीले पालन गर्नु पर्ने अनिवार्य नियमहरु, अनुष्ठानमा प्रयोग हुने सामाग्रीहरु, अनुष्ठानको लागि अपनाउनु पर्ने सावधानी र यो अनुष्ठानको लागि ध्यान दिनु पर्ने थप कुरा र २ हप्ता सम्म दैनिक के के गर्नु पर्छ भन्ने बारे थाहा पाउन वेभसाइट हेर्न सकिने छ ।
अनुष्ठानमा नेपालको समय अनुसार प्रत्येक दिन बिहानको ५ देखि ७ बजे र बेलुकाको ७ देखि ९ बजे जगदगुरु महायोगी सिद्धबाबा लाइभ आउनेछन् ।
अनुष्ठानमा सहभागि हुन कुनै शुल्क नलाग्ने आयोजकले जनाएको छ । कारोना महामारीबाट मुलुक आक्रान्त बनिरहेको यस अवस्थामा यस अनुष्ठानले दिएको ज्ञान र विधिले धेरै नेपालीहरुलाई संक्रमणबाट बच्न फाइदा पुग्ने आयोजकले विश्वास लिएको छ ।






