लण्डन । बेलायतस्थित स्याङ्जा सहयोग समाज यूकेले नेपालको स्याङ्जा जिल्लामा बढीरहेको कोभिड-१९ महामारीविरुद्ध लड्नको निम्ती सहयोग गर्ने पवित्र उद्धेश्यसहित भर्चुअल रुपमै सांगीतिक कार्यक्रम सम्पन्न गरेको छ ।
बेलायतबासी स्याङ्जालीहरु गोलबद्ध रहेको यस संस्थाले आयोजना गरेको उक्त कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक गायिका तथा स्याङ्जाली कलाकार राजन कार्की र बत्ती थापाले विभिन्न सांगीतिक प्रस्तुती दिएर मनोरञ्जन प्रदान गरेका थिए ।
बजारमा निकै चर्चा बटुल्न सफल ‘चल्यो बतास डाँडै पिपलुमा चल्यो बतास’, ‘आधिखोला स्याङ्जा बजार’ जस्ता लोक भाकामा गायक गायिकाले गीत प्रस्तुत गरेका थिए। उक्त प्रस्तुती सुन्न र मनोरञ्जन लिन पाउँदा सहभागि भएका व्यक्तिहरुले आयोजकलाई धन्यवाद व्यक्त गरेका थिए ।
जिल्लामा कोभिड संक्रमण दैनिक रुपमा बढीरहेको अवस्थामा यसविरुद्धको लडाइँमा जिल्लाबासीहरुलाई सहयोग गर्न कलाकारिताको क्षेत्रबाट आफूले सबैखाले सहयोग गर्ने भन्दै कलाकार द्धोयले आगामी दिनमा पनि यसप्रकारका कामहरु गर्दै जाने बताए ।
उक्त अवसरमा स्याङ्जा जिल्लामा अक्सिजन कन्सन्ट्रेटर लगायतका स्वास्थ्य सामग्री कसरी पठाउने र कसरी बितरण गर्ने भन्ने बिषयमा पनि छलफल भएको थियो। कार्यक्रममा सहभागि भएका नेपाली राजदूतावास लन्डनमा कार्यरत रामबाबु नेपालले दूतावासबाट हुन सक्ने सहयोग सधैं रहने प्रतिबद्धता समेत व्यक्त गरे ।
संस्थाका मिडिया संयोजक इन्जिनियर राम राज शर्माले जिल्लाबासीलाई संकटको बेला सधैं सहयोग गर्दै आइरहेको यो संस्थाले कोभिडविरुद्ध लड्न जिल्लाबासीलाई सहयोग गर्नु आफ्नो कर्तब्य भएको बताए ।
महासचिव बलराम ढकालले सञ्चालन गरेको उक्त कार्यक्रमको अध्यक्षता अध्यक्ष शारदा गुरुङले गरेका थिए । ३ घण्टा चलेको उक्त कार्यक्रम निकै सफल भएको भन्दै अध्यक्ष गुरुङले बेलायतमा रहेका सम्पूर्ण जिल्लाबासीलाई स्याङ्जा सहयोग समाजमा सदस्य बन्न समेत आह्वान गरेका थिए ।
यस्तै सोही अवसरमा” कोल्मा बाहाकोट आमा समुह ” द्वारा ७ सय पाउण्ड सहयोग हस्तान्तरण समेत गरिएको संस्थाका सल्लाहकार डेविड गुरुङले बताए ।
‘विपत्तीलाई सबै मिलेर लड्ने र हरेक जिल्लाबासीको स्वास्थ्यसेवा सवल बनाउन मद्धत गर्ने हाम्रो उद्धेश्य हो’, कार्यक्रमपछि गुरुङले लण्डन नेपाल न्यूजसँग भने, ‘हामी जिल्लाका हरेक किसीमका आपतविपदमा लड्न सदैवमा सारथी बन्न तयार छौँ ।’
स्याङ्जा सहयोग समाज यूकेले विगतका समयहरुमा जिल्लामा पर्ने विभिन्न दुख, समस्या, आपतविपदमा सघाउने देखि संस्कृति संरक्षणमा समेत योगदाद दिदै आएको छ ।






