मन्जु भण्डारी
लण्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय महिला समितिले विश्व महिला खुल्ला कविता प्रतियोगिताका लागि कविता आह्वान गरेको छ। अनेसासको इतिहासमा यो पहिलो विश्व महिला प्रतियोगिता हुन लागेको हो। अन्तर्राष्ट्रिय महिला दिवशको अवसर पारेर आयोजना गर्न लागिएको यो प्रतियोगिता “सन्तुलन र शव्च्छ समाज निर्माणमा” महिलाका सृजनाहरू र सोचहरूका विषयहरूले समाजमा महत्वपूर्ण भूमिका खेल्ने र यो आवश्यक पनि भएको कुरा समितिकी सन्योजक उर्मिला निर्दोषीले जानकारी गराईन् ।
प्रतियोगिताका लागि दुई सय शव्दसम्मको कविता पठाउन समितिले अनुरोध गरेको छ । महिला जनजीवनमाथि लेखिएको कवितालाई विशेष प्राथमिकता दिइने र प्रतियोगितामा प्रथम हुने कवितालाई पाँच सय अमेरिकी डलर र सम्मान-पत्र प्रदान गरिने छ भने द्वितीय र तृतीय हुने कवितालाई क्रमशः तीन सय र दुई सय अमेरिकी डलर र सम्मान-पत्र प्रदान गरिने छ । कविता २० मार्च २०२१ सम्ममा प्राप्त भइसक्नु पर्नेछ।
प्राप्त कविताहरू मध्येबाट निर्णायक समितिले छनोट गरेका उत्कृष्ट कवितालाई १८ अप्रिलमा आयोजना गरिने कार्यक्रममा वाचन गर्ने अवसर दिईनेछ। “आमाहरू हरेक बच्चाका पहिलो शिक्षक, हरेक महिलाहरू गृहस्थीका मुटु र महिलाहरू नै समाजका मेरूदन्ड हुन् , त्यसैले महिलाका सृजनाहरू समाजका दर्पण, अन्तर भावनाहरू सामाजिक पथप्रदर्शक हुन सक्छन्” भन्दै संयोजक उर्मिला निर्दोषीले यस्ता प्रतियोगिताहरु समय समयमा अरू संस्थाहरूले पनि गर्नुपर्ने जोड दिएकी छन्।
‘महिलाहरुको सिर्जनशिलतालाई प्रस्फुटन गराउने उद्धेश्य सहित उक्त प्रतियोगिता आयोजना गरिएको हो’, उनले भनिन्, ‘महिला स्रष्टाहरुलाई यस प्रतियोगिताले प्रोत्साहन पनि गर्ने अपेक्षा गरेका छौँ ।’






