लण्डन । बेलायत सरकारले कोरोना भाइरसविरुद्धको खोप लगाउन छुटेका ७० वर्ष वा सो भन्दा माथिका मानिसलाई खोप लगाउन आउन अपील गरेको छ ।
सरकारको खोप लगाउने प्राथमिकतामा रहेका चार समूहलाई फेब्रुअरीको १५ सम्ममा र ५० वर्ष माथिकालाई मे महिनासम्ममा खोप लगाउने नीति अनुसार अहिले ७० वर्ष माथिकालाई खोप लगाउन आउन सार्वजनिक अपील गरिएको हो ।
स्वास्थ्यमन्त्री म्याट ह्यानककले ती उमेर समूहका मानिसहरुलाई खोप लिनका लागि राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) सँग अनुमती (अपोइन्ट) लिन अनुरोध गरेका छन् ।
उनले आफ्ना परिवारका ७० वर्ष पुगेका वा सो भन्दा माथि उमेर पुगेका हजुरबाहजुरआमा, आफन्त र साथीभाइले खोप लगाए नलाएको बुझ्न र नलाएको भए लगाउनका लागि अपोइन्ट बुक गर्न पनि अनुरोध गरेका छन् ।
यसअघि मानिसहरुलाई खोपका बारेमा एनएचएसमा सम्पर्क नगर्न अनुरोध गरिएको थियो । तर अहिले भने ७० वर्ष माथिकालाई सम्पर्कमा आउन आह्वान गरिएको हो ।
प्रमुख स्वास्थ्य अधिकृत क्रिस विट्टीका अनुसार यस उमेर समूहलाई किन पनि महत्वपूर्ण मानिएको छ भने
कोरोना भाइरसको संक्रमणबाट निधन हुनेहरुमा ८३ प्रतिशत ७० वर्ष माथिका उमेर समूहका रहेकाले पनि यस उमेर समूहलाई महत्वपूर्ण मानिएको प्रमुख स्वास्थ्य अधिकृत क्रिस विट्टीको भनाइ छ ।
साथै यि ७० समुहका मानिसहरुले ‘एनएचएस’को वेभसाइटमा गएर वा ११९ मा सित्तैमा फोन गरेर अपोइन्टमेन्ट लिन सक्नेछन् ।
ह्यानककका अनुसार अहिलेसम्म खोप लगाउने दर सरकारले सोचेभन्दा राम्रो रहेको छ ।
बेलायतमा हिजो (सोमबार) सम्ममा १ करोड २२ लाख ९४ हजार ६ जनाले कोरोना खोपको पहिलो डोज लगाइसकेका छन् ।
ह्यानकका अनुसार ८० वर्ष माथिका उमेर समूहका करिब ९१ प्रतिशतले खोप लगाएको र ७५ देखि ७९ वर्ष उमेर समूहका ९५ प्रतिशतले खोप लगाएका छन् । उता केयर होममा बसोबास गर्ने ९३ प्रतिशतले पनि कोरोनाको खोप लगाएका छन् ।






