काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले चुनाव हुने कुरामा ढुक्क रहन आग्रह गर्दै फेरी पनि दुई तिहाई ल्याउने बताएका छन् ।
बालुवाटारमा बसेको ओली पक्षको केन्द्रीय सदस्यहरुको भेलामा ओलीले उक्त कुरा बताएका हुन् ।
आइतवार संसद् विघटन गर्दै ओलीले आउने वैशाख १७ र २७ गते गरी दुई चरणमा मध्यावधि चुनाव घोषणा गरेका थिए ।
उक्त चुनावको विषयमा विभिन्न हल्लाहरु फिँजाइएको भन्दै ओलीले अलमल नपर्न समेत सबैलाई आग्रह गरे ।यसैबिच बालुवाटारमा बसेको ओली समूहको बैठकले नेकपा पुनर्गठन गरेको पत्र निर्वाचन आयोगमा पठाएको छ ।
ओली समूहले हाल विद्यमान रहेका ४४६ जना केन्द्रीय सदस्य संख्या बढाएर ११ सय ९९ सदस्यीय समिति बनाउने निर्णय गरेको थियो । नयाँ पुनर्गठन गरिएको नेकपाको पत्र निर्वाचन आयोगमा पुगेको आयोगले जनाएको छ ।






