विश्वमा बढ्दै कोरोना संक्रमणको आगो

MELBOURNE, AUSTRALIA - APRIL 30: A nurse wearing full PPE takes swabs in the Pacific Epping Shopping Centre where one of the new mobile testing sites is located during COVID 19 on 30 April, 2020 in Melbourne, Australia. (Photo by Speed Media/Icon Sportswire)

न्युयोर्क – विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण सङ्क्रमित भएकाहरुको संख्या चार करोड ५० लाखभन्दा बढी पुगेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार विश्वभरी चार करोड ५० लाख १८ हजार ३५४ जना सङ्क्रमित भएका छन् ।

कोरोनाका कारण विश्वभरी अहिलेसम्म एघार लाख ८० हजार मानिसको मृत्यु भएको पनि विवरणहरुमा जनाइएको छ ।

सङ्क्रमित भएकाहरुको संख्याका आधारमा हेर्दा सबैभन्दा धेरै प्रभावित अमेरिका रहेको छ भने दोस्रोमा भारत, तेस्रोमा ब्राजिल, चौथोमा रुस र पाँचौँमा फ्रान्स रहेका छन् ।

अमेरिकामा अहिलेसम्म ९२ लाख १२ हजार ७६७ जना सङ्क्रमित भएका छन् भने दुई लाख ३४ हजार १७७ को मृत्यु भएको छ ।

त्यसैगरी भारतमा ८० लाख ८८ हजार ८५१ जना सङ्क्रमित हुँदा एक लाख २१ हजार १३१ जनाको मृत्यु भएको विश्वविद्यालयले जनाएको छ ।

तेस्रो अग्रस्थानमा रहेको ब्राजिलमा ५४ लाख ९६ हजार ४०२ जना सङ्क्रमित र एक लाख ५९ हजार ३३ जनाको मृत्यु भएको छ ।

त्यसैगरी चौथो क्रममा रहेको रुसमा १५ लाख ९९ हजार ९७६ जना सङ्क्रमित र २७ हजार ६५६ जनाको मृत्यु भएको छ भने फ्रान्समा १२ लाख ८२ हजार ७६९ जना सङ्क्रमित र ३६ हजार २० जनाको मृत्यु भएको छ ।

कोरोनाभाइरसको महामारी अहिलेसम्म विश्वका २१८ देशमा फैलिएको छ भने सङ्क्रमित भएर पनि निको भइसकेकाहरुको संख्या तीन करोड ३० लाख १८ हजार ६९७ रहेको छ । त्यसैगरी अहिलेपनि सङ्क्रमित अवस्थामै रहेका कुल एक करोड ११ लाख ७६ हजार ४२५ मध्ये एक करोड दश लाख ९४ हजार १४३ जनाको अवस्था मध्यम रहेको छ ।