अष्ट्रेलियामा यसरी मनाइयो संविधान दिवस

तक्दीर अधिकारी
सिड्नी ।विक्रम सम्वत २०७२ सालमा नेपालमा जारी भएको ‘नेपालको संविधान’को पाँचौ बर्ष पुगेको अवसरमा अष्ट्रेलिया स्थित नेपालीहरुले खुशीयाली मनाएका छन् । २०७२ साल असोज ३ गते साँझ ५ बजे पूर्व राष्ट्रपति डा. रामवरण यादवले ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए । त्यसपछि सरकार सँगै देश तथा विदेशमा रहेका नेपालीहरुले हरेक बर्षको असोज ३ गते संविधान दिवसको रुपमा मनाउने गरेका छन् भने नेपाल सरकारले यस दिन सार्वजनिक विदा समेत दिएको छ ।
अष्ट्रेलियाका दुइ मुख्य शहरहरु क्यानबेरा र सिड्नीमा विशेष कार्यक्रमहरु गरी संविधान दिवस मनाउँदै खुशीयाली साटासाट गरिएको हो । कयानबेरा स्थित नेपाली दूतावासमा एक कार्यक्रम गरी संविधान दिवस मनाइएको छ । नेपाली राजदूतावास कार्यालयको प्राङ्गणमा राजदूत महेशराज दाहालले झण्डोत्तोलन गरेका थिए भने राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको शुभकामना सन्देश पनि पढेर सुनाएका थिए । झण्डोत्तोलन पछि बोल्दै राजदूत दाहालले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र सहित संविधान सभा मार्फत नेपालको संविधान जारी भएको भन्दै यो उपलब्धि हासिल गर्न रगत बगाएका नेपाली सहीदहरु प्रति सम्मान ब्यक्त गरे । कार्यक्रममा बोल्दै राजदूत दाहालले भने, “अब हामी सबै नेपालीहरुले प्रण गर्नुपर्ने छ , लामो लडाइबाट जनताले संविधान बनायौ, त्यसपछि धेरै कानुनहरु बनायौ, यो सँगै देश समृद्धिको यात्रामा लागेको छ। संसारको जुनसुकैको कुनामा रहेका नेपाली भएपनि “सुखी नेपाली र समृद्ध नेपाल” अभियानमा लागौँ”
राजदूतावासकी उपनियोग प्रमुख दुरपदा सापकोटाले स्थानीय सरकारको नियम पालना गर्दै सीमित ब्यक्तिहरुको सहभागितामा कार्यक्रम गरिएको जानकारी दिइन् । लण्डन नेपाल न्युज सँग कुराकानी गर्दै उनले भनिन्, “ महामारीको कारण ठुलो मात्रामा सहभागी बनाउन सकिएन, नेपाली समुदायका केही प्रतिनिधि जम्मा भएर कार्यक्रम गर्याैँ, जुन निकै फलदायी रह्यो”।

यता सिड्नी स्थित न्यू साउथ वेल्स राज्य परिषदका अवैतनिक महावाणिज्य दूत दिपक खड्काको संयोजकत्वमा  स्थलगत उपस्थिति र जुम गरी  कन्सुलेटको कार्यलय प्राङ्गणमा एक औपचारिक कार्यक्रम सम्पन्न गर्दै दिवस मनाइएको छ ।
छोटो तयारीका विच सरकारले तोकेका मापदण्डहरु पालना गरी संविधान दिवस मनाइएको र कार्यक्रम सफल भएको  अवैतनिक राजदूत दिपक खड्काले प्रतिक्रिया दिए । नेपालको संविधानले सबै नेपालीहरुलाई समेटेर प्रशस्त अधिकारहरु दिएको भन्दै उनले भने, “लोकतन्त्रमा सबैभन्दा महत्वपूर्ण पक्ष भनेको संविधान नै हो, हाम्रो संविधान अन्यत्रको भन्दा निकै विशिष्ट र विश्वमै उत्कृष्ट छ ।  “संविधान आफैमा गतिशिल हो, यसमा कसैका असन्तुष्टि भएमा सुधार गर्न सकिन्छ।”
उक्त अवसरमा नेपाली समुदायका साथै अष्ट्रेलिया सरकार तथा विपक्षी दलका नेताहरु समेत उपस्थित भई शुभकामना दिएका थिए । विशेष अतिथिको रुपमा लेवर पार्टीकी सांसद मिसेल रोल्याण्ड, सांसद एन्ड्रयु ब्राग, प्रमुख विपक्षी दलकी नेतृ जोडी म्याके, एनआरएनए आइसिसीका उपाध्यक्ष मन केसी लगायतले बोेल्दै शुभकामना दिएका थिए । त्यसैगरी एनआरएनए अष्ट्रेलिया उपाध्यक्ष तथा न्यू साउथ वेल्स राज्य परिषद सम्योजक देव गुरुङ, एनआरएनए अभियन्ता ईन्द्रा वन, प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष रमेश पाण्डे, एनआरएनए ओसेनिया महिला संयोजक जानकी पौडेल, अधिवक्ता डा. शमशेर सिंह थापा, भवानी ओली, लगायतको सहभागिता रहेको कार्यक्रमको सञ्चालन एनआरएनए ओसेनिया संयोजक होम पाण्डेले गरेका थिए।