काठमाण्डौ । छोरालाइ सर्पले टोकेर उपचारको निम्ती अस्पताल लैजाँदै गर्दा बाँकेमा रोकिरहेको ट्रकमा मोटसाइकल ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ।
आइतबार बिहान पौने ५ बजे राप्तिसोनारी गाउँपालिका- ८ शमसेरगञ्जस्थित चेकपोष्टमा ना ४ ख २१३९ नम्बरको ट्रक चेकिङको लागि रोकिएको थियो। त्यहीबेला पूर्वबाट पश्चिम जाँदै गरेको भे ८ प २२३८ नम्बरको मोटरसाइकल उक्त ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालयका डिएसपी सुवास खड्काका अनुसार दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते छन्। मोटरसाइकल चालक सोही गाउँपालिका(१ कुसुम घर भएका ३२ वर्षीय चेवन देवकोटाको उपचारका लागि अस्पताल लाँदै गर्दा मृत्यु भएको हो।
त्यस्तै मोटरसाइकलमा सवार तीन वर्षीय लिला बहादुर खड्काको उपचारका क्रममा आइतबार बिहान साढे १० बजे भेरी अञ्चल अस्पतालमा मृत्यु भएको डिएसपी खड्काले बताए।
‘सर्पले टोकेको बिरामी बच्चाको उपचारका लागि आमा र चेवनले अस्पताल लाँदै थिए। त्यही बेला उनीहरू दुर्घटनामा परे’,डिएसपी खड्काले भने,’सर्पले टोकेको बच्चाको पनि उपचारको क्रममा मृत्यु भएको छ।’ उनका अनुसार घाइते भएका कौशिला खड्का ती बालकका आमा हुन्। उनको अस्पतालमा उपचार भइरहेको छ। त्यस्तै प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालेको डिएसपी खड्काले बताए।






