दुई टुक्रा हुने गरी कसरी भयो भारतमा विमान दुर्घटना ?

नयादिल्ली ।

दक्षिण भारतको केरला राज्यको एउटा विमानस्थलमा एअर इन्डिया एक्सप्रेसको यात्रुवाहक विमान दुर्घटना हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ।

भारतीय समाचारसंस्था पीटीआईका शनिवार बिहान एक घाइतेको मृत्यु भएपछि मृतकको संख्या १८ पुगेको हो ।

संयुक्त अरब इमिरेट्सको दुबईबाट भारतीय नागरिकहरूलाई लिएर आएको उक्त विमान क्यालिटकमा शुक्रवार साँझ अवतरणका क्रममा दुर्घटनाग्रस्त हुँदा दुई टुक्रा भएको थियो ।

चालक दलका ६ सदस्य सहित १८४ यात्रुहरू रहेको उक्त बोइङ ७३७ विमान धावनमार्गमा चिप्लिएपछि दुर्घटना भएको उड्डयन अधिकारीहरूले बताएका छन्।


कोरोनाभाइरस महामारी फैलिएपछि यूएईमा अलपत्र परेका १० शिशु सहित भारतीय नागरिकहरू उक्त विमान चढेर स्वदेश फर्किँदै थिए। उनीहरुको अहिले विभिन्न अस्पतालमा उपचार भइरहेको बिबिसीले जनाएको छ ।

कसरी भयो दुर्घटना ?

मनसुनको समय भएको कारण ठुलो बर्षा हुँदा विमान अवतरणमा समस्या भएको थियो । जसका कारण विमानचालकहरूले अवतरण गर्ने पहिलो प्रयास स्थगित गरेका थिए। दोस्रो पटक अवतरण गर्ने प्रयास गर्दा स्थानीय समयानुसार साँझ १९ : ४० मा दुर्घटना भएको थियो।
विमान दुइ टुक्रा भएपनि भाग्यवश आगो लाग्न भने पाएन ।

भारतका नागरिक उड्डयनमन्त्री हरदीप सिंह पुरीले एउटा ट्वीट गर्दै उक्त विमान “ठूलो वर्षाको अवस्थामा धावनमार्गमा ठोक्किएको, त्यसपछि ३५ फिट भिरालो ठाउँमा गुडेको र दुई टुक्रा भएको“ बताएका छन् ।

उनले उक्त दुर्घटनाबारे भारतको विमान दुर्घटनासम्बन्धी अनुसन्धान गर्ने निकाय एएआईबीले जाँचबुझ गर्ने बताए।