काठमाडौं । सत्तारढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको पाँचौं बैठक चलिरहेको छ । बैठकमा हिजो पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि पार्टीभित्रको आन्तरिक किचलो सतहमा आएको छ ।
प्रचण्डले हिजो राजीनामा मागेपछि आज बिहान प्रधानमन्त्री ओलीले आफ्ना निकटसँग छलफल गरेका थिए । उक्त छलफलमा पनि पार्टी सहमतिअनुसार अघि बढ्न सुझाव दिएपछि प्रधानमन्त्री ओलीको पद धरापमा परेको विश्लेषण गरिएको छ ।
यता, गत बुधबारदेखि सुरु भएको बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग भएसँगै विवाद उत्कर्षमा पुगेपछि स्थगित गरिएको छ । आज बुधबारको बैठकमा पाँच जना सदस्यले धारणा राखेका थिए ।
दुई दिनअघि निर्वाचन आयोगमा दर्ताको लागि आवेदन परेको भनिएको नेकपा (एमाले) को सम्बन्धमा छलफलमा सदस्यहरूले भाग लिएका थिए । यस विषयमा योगेश भट्टराई, लीलामणि पोखरेल, मातृकाप्रसाद यादव, नन्दकुमार प्रसाई र आमन्त्रित सदस्य पेशलकुमार खतिवडा गरी ५ जनाले धारणा राखेका थिए । अर्को बैठक भोलि असार १८ गते ११ बजे पुनः बस्ने भएको छ ।






