अस्ट्रेलियामा बस्ने नेपाली कोरोना पीडितले अब के गर्ने, कस्ताले पाउँछन ? राहत स्कीम !!

तक्दीर अधिकारी
सिड्नी । कोरोना भाइरसले निम्त्याएको विश्वव्यापी संकटले कुनै देश अछुतो छैन । अस्ट्रेलियामा अध्ययनका लागि पुगेका नेपाली विद्यार्थी कोरोना भाइरसले निम्त्याएको संकटबाट सबैभन्दा धेरै पीडित छन् । पीडितलाई सहयोग गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाले विभिन्न नेपाली संघसंस्थासँग मिलेर कोषमा रकम संकलन गरिरहेको छ ।

नेपाली दूतावास क्यानभेराको अभिभावकत्वमा अस्ट्रेलियामा रहेका विभिन्न नेपाली संघसंस्थाको सहभागितामा एनआरएनएले संयुक्त बैठक आयोजना गरेको थियो । उक्त बैठकले पीडितलाई सहयोग गर्न विभिन्न कार्यदल गठन गरेको थियो । त्यसमध्ये एनआरएनए कोषाध्यक्ष अनिल पोखरेलको संयोजकत्वमा श्रोत परिचालन तथा फन्ड राइजिङ समिति गठन गरिएको छ ।

संयोजक पोखरेलका अनुसार उक्त समितिको काम कोषमा संकलन भएको रकमलाई सदुपयोग गर्ने र सहयोगका लागि नयाँ श्रोत पहिल्याउने हो । एनआरएनए अस्ट्रेलियाले २० हजार डलर खर्च गर्ने प्रतिबद्धता गरिसकेको छ ।

त्यत्तिले मात्र नपुग्ने र कोषमा अझ धेरै रकम चाहिन्छ, संयोजक पोखरेलले भने, ‘कार्यदलले ५० हजार डलर संकलन गर्ने उद्देश्य राखेको छ । के–केमा खर्च गर्ने भन्ने बारेमा पनि माटोमोटी तय भइसकेको छ ।’

कस्ताले सहयोग पाउँछन भन्ने लन्डन नेपाल न्यूजको जिज्ञासामा संयोजक पोखरेलले भने, अस्थायी भिषा भएका विद्यार्थी र माइगे्रट नेपाली समुदायको अवस्था हेरेर सहयोग गरिनेछ । सबैलाई सहयोग गर्न नसकिने भएकाले एकदमै मर्कामा परेकालाई जसलाई सहयोग गर्नैपर्ने हो कि होइन भन्ने अध्ययन गर्ने एउटा टोली छ, उक्त टोलीले सिफारिस गरेका आधारमा पैसा खर्च हुन्छ ।’

दुई साता अझै कोष संकलन क्याम्पेन चल्नेछ । अहिलेसम्म साढे २ सयलाई सहयोग गरिसकेको जानकारी दिँदै संयोजक पोखरेलले भने, ‘बसोबासमा समस्या परेका, काउन्सिलिङका लागि र घरेलु हिंसामा परेकालाई सहयोग गरिने उद्देश्य राखिएको थियो । तर, अहिले विद्यार्थी र बसाइसरेका समुदायलाई पहिलो प्राथमिकतामा राखेर सहयोग गरिने छ ।’

अहिलेसम्म १ हजारजनाले सहयोगको याचना गर्दै फर्म संकलन भइसकेको छ जानकारी दिँदै पोखरेल भने, ‘फर्ममार्फत् हामीले सबै सूचना संकलन गरेका छौं । सबैलाई सहयोग उपलब्ध गराउन सकिँदैन, उनीहरुको समस्यालाई अध्ययन गरिसकेपछि मात्र सहयोग उपलब्ध गराइन्छ ।’

सहयोग कसरी प्राप्त गर्न सकिन्छ भन्ने जिज्ञासामा संयोजक पोखरेलले भने, ‘कुन राज्यबाट फर्म आएको हो, त्यो राज्यमा मर्कामा परेका विद्यार्थी वा माइगे्रन्स नेपाली समुदायको अध्ययन गर्ने एउटा टिम छ । एनआरएनए संयोजकलगायतको एउटा टिम छ, त्यो टिमले सिफारिस गर्छ । त्यो टिमको सिफारिसमा केन्द्रल रकम पठाउने हो ।’
सहयोग गर्न का लागि यहाँ क्लिक गर्नुस् https://www.gofundme.com/f/australian-nepali-community-covid19-relief-fund?utm_source=customer&utm_medium=copy_link&utm_campaign=p_cf%20share-flow-1&fbclid=IwAR0PSIBFQA0IYGm7en2MxLlMGXEVI0yhL2UwjcH3OMJE29T0HFUJyUvRps8