भेटघाटले अल्डरशटमा वृद्धवृद्धालाई निःशुल्क भोजन गराउंदै

लन्डन ।गैरआवासीय नेपाली संघ बेलायतका पूर्वउपाध्यक्ष तथा समाजसेवी शेर सुनारले भूतपूर्व गोर्खा लगायत वृद्धवृद्धालाई निशुल्क खाना खुवाउने अभियान थालेका छन् । बेलायत सरकारले कोरोना भाइरसका कारण विशेष गरी वृद्धवृद्धालाई घरमै बस्न अनुरोध गरेपछि एनआरएनए अभियन्ता सुनार वृद्धवृद्धाको सेवामा जुटेका हुन् ।
लन्डन नेपालन्युजसंग कुरा गर्दै सुनारले संकटको यस्तोबेला सक्दो सहयोग गरौं भन्ने उद्देश्यले आफुले यो अभियान शुरु गरेको बताए। “बिहिबारदेखि वृद्ध वृद्धाहरुलाई घर मै निशुल्क खाने कुरा पुराउना शुरु गरेका छौं, यो क्रम जारी रहने छ,” उनले भने । उनले गोर्खा चौतारी तथा गोर्खा आमा समूहको सहयोगमा निशुल्क खाना बांडने अभियान जारी रहेको बताए । “यसमा सहयोगी हातहरु पनि जोडीइ रहनु भएको छ, उहाँहरु सबैलाई म सलाम गर्न चाहन्छु,” सुनारले भने ।
उनले छिट्टै अल्डरशट स्थित आफुले संचालन गर्दै आएको भेटघाट रेस्टुरेन्ट बाहिर सुप र हल्का खानेकुरा राखेर हरेक दिन केहि घण्टा ब्रिटिश नागरिक लगायत सबैलाई निशुल्क उपलब्ध गराउने योजना बनाएको बताए । यसका लागि काउन्सिलबाट अनुमति लि सकिएको पनि उनले जनाए । किचनमा केहि गोर्खा सैनिक र आफ्नो परिवारका सदस्यहरुले सघाइ रहेको पनि उनले बताए । उनले यो निस्वार्थ अभियानमा हातेमालो गर्न सबैलाई आह्वान पनि गरेका छन् । सम्पर्क: शेर सुनार तथा भेटघाट रेन्टुरेन्ट ०७८९९७०४८९९