लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) युके नर्दन आयरल्याण्ड राज्य परिषदले सकारात्मक कामको थालनी गरेको छ । गत सोमबार नर्दन आयरल्याण्डका नेपालीले नेपालमा आवश्यकता अनुसार आपतकालिन अवस्थामा सहयोग गर्न बेलफाष्टको द राज रेष्टुरेण्टमा एक च्यारिटी आयोजना गरेको छ।परिषद्ले राम्रो कामको शुरुवात गरेको हो।
च्यारिटीबाट करिब १५ सय पाउण्ड जम्मा भएको छ । सो च्यारीटी कार्यक्रममा इंग्ल्याण्ड, स्कटल्याण्ड, रिपब्लिक आयरल्याण्ड तथा नर्दन आयरल्याण्डबाट च्यारिटीमा सहभागी हुन नेपालीहरु आएका थिए ।

एनआरएनए यूके राज्य समन्वय समिति नर्दन आयरल्याण्डका अध्यक्ष नारायण कुंवरको संयोजन तथा अध्यक्षतामा भएको उक्त कार्यक्रममा गैर आवासीय नेपाली संघ आयरल्याण्डका अध्यक्ष मिलन छन्त्यालले कार्यक्रम उद्धाटन गरेका थिए । अध्यक्ष छन्त्यालले एनआरएनए आयरल्याण्डले एनआरएनए यूके नर्दन आयरल्याण्डसंग सहकार्य गर्न चाहेको बताए । युके र आयरल्याण्डमा रहेका नेपालीहरु मिलेर नेपाल र नेपालीका लागि विभिन्न कार्य गर्न सकिने उनले बताए ।
कार्यक्रममा विशिष्ट अतिथी गैर आवासीय नेपाली संघ युकेका पूर्व उपाध्यक्ष शेरबहादुर सुनारले गैर आवासीय नेपाली संघ बेलायतमा नर्दन आयरल्याण्डको विशेष भूमिका रहेको बताए । उनले गैर आवासीय नेपाली संघ युकेको गत निर्वाचनमा नर्दन आयरल्याण्डले आफूप्रति देखाएको विश्वासका लागि कृतज्ञता प्रकट गरे ।

गैर आवासीय नेपाली संघ बेलायतको हालै सम्पन्न निर्वाचन पछि पहिलो पटक गैर आवासीय नेपाली संघको कार्यक्रममा नर्दन आयरल्याण्ड पुगेका सुनारलाई बेलफाष्टमा स्वागत गरिएको थियो । कार्यक्रममा आइसीसी सदस्य दयानिधि सापकोटा, एनआरएन युके उपाध्यक्ष नारायण कँडेल तथा नर्दन आयरल्याण्डका पूर्व अध्यक्ष लिलाराम निउरेलगायतले आ-आफ्नो धारणा राखेका थिए । एनआरएनए यूके उपाध्यक्ष नारायण कँडेलले कार्यक्रम आयोजना गरेकोमा गैर आवासीय नेपाली संघ नर्दन आयरल्याण्डलाई धन्यवाद दिए ।
एनआरएनए यूके सचिव तथा समन्वय विभाग संयोजक कोषलेश्वर ढकालले राज्य परिषदहरुसंग समन्वय गरि कार्य गर्न चाहेको बताए । कार्यक्रममा नर्दन आयरल्याण्ड राज्य समितिमा निर्वाचित सहायक सचिव विष्णु खत्री तथा सदस्य तुलसीराम पौडेललाई बेलायतका उपाध्यक्ष नारायण कँडेलले पद तथा गोपनियताको शपथ गराए । उक्त कार्यक्रम नर्दन आयरल्याण्डका सचिव छमबहादुर रेग्मीले संचालन गरेका थिए ।कार्यक्रममा नेपालबाट आएकी लोक गायीका खिमा रोका मगर र गायक ज्ञानसिंह पुनले प्रश्तुती दिएका थिए ।






