लन्डन/ बेलायतमा कार्यरत नेपाली इन्जिनियरहरुको सम्मेलन शनिबार एजवेयरमा सम्पन्न भएको छ। बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी तथा नेपाल इन्जिनियर्स एसोसियसनका अध्यक्ष प्रा. डा. त्रिरत्न बज्राचार्यले संयुक्तरुपमा सम्मेलनको उद्घाटन गरेका थिए। सोसाइटी अफ नेप्लिज इन्जिनियर्स यूकेद्वारा आयोजित प्राज्ञिक सम्मेलनलाई सम्बोधन गर्दै राजदूत सुवेदीले भूकम्प लगत्तै र त्यसपछि पनि सोने यूकेले पुराएको सहयोगको प्रशंसा गरे। “ब्रिटेन जस्तो विकसित, औद्योगिक राष्ट्रमा तपाईं हरुले सिक्नु भएको इञ्जिनियरिङ्ग पद्धति, प्रविधि र ज्ञानको हस्तान्तरण नेपालको विकासका लागि महत्वपूर्ण हुनेछ,” उनले भने। राजदूत सुवेदीले सोने यूकेलाइ नेपाली दूतावासले आयोजना गरिरहेको नेपाल विकास सम्मेलन शृंखला अन्तर्गत नेपालको विकासबारेमा संयुक्त कार्यक्रम गर्न आमन्त्रण पनि गरे।
नेपाल इन्जिनियर्स एसोसियसनका अध्यक्ष तथा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्स्टिच्युट अफ इञ्जिनियरिङ्गमा कार्यरत प्रा. डा. त्रिरत्न बज्राचार्यले नेपालमा गएको २५ वर्षमा इञ्जिनियरिङ्ग शिक्षाले फड्को मारेको बताए। सन् १९९४ सम्म नेपालमा झन्डै ५० जना विद्यार्थीले मात्र वर्षेनी स्नातक तहको इञ्जिनियरिङ्ग पढ्न पाउने गरेकोमा अहिले देश भरि हजारौं विद्यार्थीहरुले इञ्जिनियरिङ्गसंग सम्वद्ध विषयहरु पढीरहेको उनले बताए। उनले सन् १९७२ मा स्थापित इन्स्टिच्युट अफ इञ्जिनियरिङ्ग अहिले नेपाल र क्षेत्रीय स्तरमै ‘सेन्टर अफ एक्सिलेन्स’ को रुपमा चिनिएको पनि बताए। सोहि समारोहमा राजदूत सुवेदीले सोने यूकेले प्रकाशित गरेको पहिलो स्मारिकाको विमोचन पनि गरेका थिए। सोसाइटी अफ नेप्लिज इन्जिनियर्स यूकेका अध्यक्ष शैलेन्द्रकाजी श्रेष्ठले आफ्ना सदस्यहरुको सीप र विज्ञता नेपालको हितमा प्रयोग गर्न सोने यूकेले तीन ओटा संस्थासंग समझदारीपत्रमा हस्ताक्षर गरेको बताए। विकास भनेको जनताका लागि राम्रो प्रणाली सिर्जना गर्नु हो भन्दै उनले नेपाल इन्जिनियर्स एसोसियसन लाइ पद्धतिमा सुधार गर्ने कामको नेतृत्व लिन आग्रह गरे।
महासचिव उमेश पराजुलीले सोने यूकेले आफ्नो स्थापनाकालदेखि बेलायतमा कार्यरत नेपाली इन्जिनियरहरुको वृत्ति विकासका लागि काम गर्दै आएको बताए। उनले नेपाली इन्जिनियरहरुको विदेशमा सिकेको ज्ञान र सीप नेपालको पुनर्निर्माणमा प्रयोग गर्न सजिलो पहुँच बनाउन एउटा ‘फोकल पोइन्ट’ को स्थापना गर्न नेपाल सरकारलाई आग्रह पनि गरे। सोने यूकेका उपाध्यक्ष डा. वीरेन्द्र श्रेष्ठले सम्मेलनको उद्देश्यबारे प्रकाश परेका थिए। कार्यक्रममा पररास्ट्र मन्त्रीका प्रेस सल्लाहकार सुधन ज्ञवालीले बेलायतमा कार्यरत नेपाली इन्जिनियरहरुको विज्ञता नेपालको पूर्वाधार, जलविद्युत, यातायात लगायतका क्षेत्रमा उपयोगी हुने विश्वास व्यक्त गरे। कार्यक्रमको दोश्रो सत्रमा इन्जिनियर डा. विनोदलाल अमात्यले नेपालमा सन् २०४० सम्म भूमिगत रेल यातायात संजाल विकासको खाका पेश गरे। उनले सन् २०१२ मा काठमाडौँमा भूमिगत रेल यातायात (मेट्रो) संचालन गर्नेबारे सम्भाव्यता अध्ययन भैसकेको बताउँदै काठमाडौँ उपत्यकाको दीर्घकालीन विकास, सम्पदा संरक्षण तथा आर्थिक सम्वृद्धिका लागि मेट्रो सबैभन्दा उपयुक्त विकल्प रहेको पनि बताए।
संयुक्त राष्ट्र संघको ब्यांककस्थित एशिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (एस्क्याप) मा कार्यरत शहरी यातायात विज्ञ डा. मदन बन्ढु रेग्मीले नेपालमा विस्तृत शहरी यातायात योजना अत्यावश्यक भैसकेको बताए। उनले सडक सुरक्षा नेपालको प्राथमिकता हुन नसकेकोमा दुख व्यक्त गर्दै जति सक्दो चांडो सडक सुरक्षा परिषद गठन गर्न सुझाव पनि दिए। विश्व स्वास्थ्य संगठनको काठमाडौँस्थित कार्यालयमा कार्यरत इन्जिनियर सुदन पन्थीले बेलायतजस्ता मुलुकहरुले वायु प्रदूषण नियन्त्रण गर्न अपनाएका कदमहरु र उनीहरुको उपलव्धिबाट नेपालले पनि सिक्नु पर्ने बताए। दोश्रो सत्रको अध्यक्षता ब्रिटेनको सोलेन्ट विश्व विद्यालयका सहप्राध्यापक डा. रमेश मरासिनीले गरेका थिए।
सम्मेलनमा ब्रिटेनको पोर्ट्समथ विश्वविद्यालयका प्राध्यापक होम ढकाल, स्वांसी विश्वविद्यालयमा अनुसन्धानरत रामहरि पौड्याल, इन्स्टिच्युट अफ इञ्जिनियरिङ्गका सहायक प्राध्यापक डा. इन्द्र आचार्य, बेलायतमा कार्यरत वरिष्ठ निर्माण व्यवस्थापक विजय गुरुंगले प्रश्तुति गरेका थिए। त्यस्तै रोटरी क्लब अफ ब्रिस्टल ब्रेकफास्टका कोलिन शरकले पोखरामा क्लबले शुरु गरेको नेपाल व्यवसायिक प्रशिक्षण परियोजनाबारे जानकारी दिएका थिए। बेलायतमा विभिन्न क्षेत्रमा कार्यरत नेपाली इन्जिनियरहरु तथा समाजका वरिष्ठ व्यक्तित्वहरु सहित झन्डै १०० जनाको कार्यक्रममा सहभागिता थियो। (फोटो: गुणदेव घिमिरे)






