सोचेजस्तो काम हुन सकेको छैनः मन्त्री पण्डित

युएई– युएई आइपुगेका सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले यहाँका नेपालीहरुसँग भेटघाट गरेका छन् ।

शनिबार नेपाली दूतावास आबुधावीमा एक कार्यक्रमको आयोजना गरी युएईमा रहेका विभिन्न संघसस्था, राजनीतिक दलका भातृ संगठनका प्रमुख तथा प्रतिनिधि लगायत अन्य नेपाली श्रमिकसँग मन्त्री पण्डितले भेटघाट गरेका हुन् ।

उक्त भेटघाट कार्यक्रममा उनले नेपालको बर्तमान राजनीतिक अवस्था र सरकारले गर्न लागेको विकासका कामबारे प्रस्ट्याएका थिए । तर, सोचेजस्तो काम हुन नसकेको मन्त्री पण्डितले स्वीकार गरे ।

विभिन्न राष्ट्रहरुसँग श्रम सम्झौता भैरहेकाले अब कामदारहरुलाई पर्न गएको असुविधा छिट्टै समाधान हुने उनले बताए । यस्तै मन्त्री पण्डितले भन्सारमा भएको कडाइबारे नेपाल फर्किए लगत्तै अर्थमन्त्रीसँग छलफल गरेर समाधान खोजिने बताए ।
उनले भने, ‘विदेशमा बसेर रेमिट्यान्स भित्र्याउने हर नेपालीप्रति मेरो सलाम छ। तपाईंहरु विदेशमा सीप सिकेर नेपाल फर्कनुस्, तपाईंलाई सरकारले सहयोग गर्छ ।’

कार्यक्रममा उपस्थित नेपालीहरुले भन्सारमा भएको कडाइ तत्काल बन्द गरिनु पर्ने, घरेलु कामदारलाई सजिलै श्रम स्वकृती हुनु पर्ने, एयरपोर्टमा सेटिङ बन्द गरि सहज तरिकाले भिजिट भिसा खोल्नु पर्नेलगायतका माग राखेका थिए ।

आजदेखि सुरु हुने सातौं विश्व सरकार शिखर सम्मेलनमा नेपालका तर्फबाट सहभागी हुन मन्त्री पण्डित गत शुक्रबार युएई आएका थिए ।
सम्मेलनमा १५० देशका प्रतिनिधिहरुले भाग लिनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *