काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको महासमिति बैठकपछि आज पहिलो पटक केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ ।
महासमिति सकिएको एक महिनापछि पहिलो पटक बस्ने बैठकमा काँग्रेसले विधान, भ्रातृ संङगठन समसामयीक राजनीतिक अवस्था र आफ्नो लिने नीति तथा कार्यक्रमबारे छलफल गर्ने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्य पनि उपस्थित हुने काँग्रेसले जनाएको छ ।
यो बैठकबाट गत पुस ८ गते सम्पन्न महासमिति बैठकले पारित गरेको पार्टीको विधान मस्याँैदा, राजनीतिक, आर्थिक प्रस्तावलगायतका प्रस्तावलाई पनि अनुमोदन गर्ने बताइएको छ ।
मंसिर २८ गते सुरु भएर पुस ८ गते सकिएको महासमिति बैठकले परिमार्जनसहित पारित गरेका पार्टीका विभिन्न प्रस्तावहरुलाई यहि बैठकले अन्तिम रुप दिएपछि पार्टीको विधान कार्यान्वयन प्रक्रियामा जाने भएकाले पनि बैठकलाई महत्वका साथ हेरिएको छ ।
संशोधित विधान बमोजिम काँग्रेसले आगामी दिनमा केन्द्र, प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र र टोलसम्म ८ तहको पार्टी संरचना निर्माण गर्नेछ ।
बैठकमा प्रमुख एजेण्डा
पहिलो एजेण्डाः महाधिवेशन प्रतिनिधि बन्न केन्द्रीय तहका नेताहरुले पनि बुथबाट निर्वाचित भएर आउनुपर्ने व्यवस्था गर्न पार्टी विधानमै उल्लेख गर्नुपर्ने जिल्ला सभापतिहरुको सुझावलाई विधानमा समेट्ने या नसमेट्ने भन्ने एजेण्डा सम्बोधन गर्नुपर्नेछ । साथै समानुपातिक कलस्टरमा एक पटकभन्दा बढी अवसर दिन नहुने पनि विधानमै राख्नुपर्ने सभापतिहरुको माग छ । तर, केन्द्रीय सदस्यहरुबीच सभापतहिरुका मागमा मतभेद छ । प्रमुख नेताहरुले जिल्ला सभापतिलाई उक्त विषयलाई केन्द्रीय कार्यसमितिबाट पार्टीको विधानमा राख्ने आश्वासन दिएको दिएपनि सहमति जुटाउन सकेका छैनन् ।
दोस्रो एजेण्डाः काँग्रेस भ्रातृ संगठन नेपाल विद्यार्थीको वर्तमान कार्यसमिति विघटन भैसकेको छ । यो विषय पनि बैठकमा पेचिलो रुपमा उठ्नेछ । गत भदौ २ गते म्याद सकिएको नैनसिंह महर नेतृत्वको कार्यसमितिलाई बारम्बार म्याद थप्दै पछिल्लो पटक पार्टीले यही माघ १० गतेसम्मको वैधानिकता दिएको छ ।
महाधिवेशन गर्ने प्रयोजनका लागि पार्टीले पहिलो पटक ३ र दोस्रो पटक २ महिनाको म्याद थपेको थियो त्यो समय पनि माघ २ गते सकिएको थियो । त्यसपछि माघ १० मा बस्ने पार्टी केन्द्रीय कार्यसमितिले निर्णय गर्नेगरी दैनिक कामकाज गर्न समय थपियो । अहिलेसम्म नेविसंघले १८ जिल्लमा अधिवेशन गरेका छ । बाँकी जिल्ला पनि अधिवेशनको तयारीमा छन् । तर पछिल्लो समय नेविसंघमा ठूलो विद्रोह छ ।
संघ अध्यक्ष नैनसिंह महरले महाधिवेशन गराउन नसक्ने भन्दै संस्थापन पक्षीय नौ र वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय ४५ पदाधिकारी तथा सदस्यले राजीनामा दिइसकेका छन् ।
तेस्रो एजेण्डाः सरकारले काँग्रेसका तत्कालीन सभापति तथा पूर्व प्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेको दुईवटा अस्पताल प्रदेश मातहत राख्ने प्रयास गरेका विषयमा पनि काँग्रेसले छलफल गर्नेछ ।
तनहुँको दमौलीमा रहेको गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास तथा प्रशिक्षण अस्पताल र बाँकेमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई लिएर काँग्रेसले संसद अवराध गर्दै आएको छ ।
चौँथो एजेण्डाः चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै १६ औँ आमरण अनशनमा बसकेका डा. गोविन्द केसीको विषयले काँग्रेस बैठकमा स्थान पाउने देखिन्छ । यसअघि पनि काँग्रेस डा. केसीका मागलाई लिएर सदन र सडकमा उत्रिएको थियो । पार्टी सभापति देउवा नेतृत्वको सरकारका पालामा चिकित्सा अध्यादेश आएको भन्दै डा. केसीले उठाएका मागलाई काँग्रेसले आफ्नो प्रोपोटीका रुपमा लिएको छ ।
पाँचौँ एजेण्डाः पछिल्लो समय देश दुनियाँका माझ चर्चाको विषय बनेको वाइडबडी खरिद प्रकरण पनि काँग्रेस बैठकमा उठ्ने नेताहरुले बताएका छन् ।
वाइडबडी खरिद प्रकरणमा पूर्व पर्यटन मन्त्री जीवनबहादुर शाही, जितेन्द्र देवदेखि सभापति देउवाको नाम जोडिएको छ । बैठकमा यसबारेमा पनि सभापति देउवामार्फ जवाफ खोज्ने एक केन्द्रीय सदस्यले बताए ।
छौँटौँ एजेण्डाःकाँग्रेसले निर्मला पन्त हत्या प्रकरणलाई पनि जोडतोडका साथ उठाउने तयारी गरेको छ । पार्टी प्रवक्ता शर्माले माघ ७ गतेकञ्चनपुर गएर निर्मला पन्तको परिवारलाई भेट्दै न्यायका लागि काँग्रेस सदन र सडकमा कडा रुपमा उत्रिने बताएका थिए ।
यि बाहेक काँग्रेसले जनसरोकारका अन्य विषयमा समेत छलफल गर्ने र सरकारलाई दबाब दिने रणनीति तय गर्ने बुझिएको छ ।






