जेनी भट्टराई
काठमाडौं– मस्तिष्क पक्षघात बालबालिकालाई ‘मिसेस नेपाल यूके– २०१७’ ले आर्थिक सहयोग गरेको छ ।
भक्तपुरको मध्यपुर ठिमी नगरपालिकास्थित दिवा कक्षा केन्द्रमा आश्रित मस्तिष्क पक्षघात भएका बालबालिकाको सहयोगार्थ १० लाख रुपैयाँ सहयोग गरिएको हो ।
‘मिसेस नेपाल यूके– २०१७’ प्रतियोगी टिमले ११ मार्च साँझ बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न ऐतीहासीक च्यारिटी डिनर गरेर आर्थिक संकलन गरेको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
सहयोग हस्तान्तरणका लागि लन्डन फेसन हाउसकी प्रोप्राइटर मनिषा डंगोल श्रेष्ठ‘,मिसेस नेपाल यूके– २०१७’की सेकेन्ड रनर अप अमृता गिरी गजुरेल एबम मिस ट्यालेन्ट अञ्जु श्रेष्ठ लगायतको टिम नेपाल आएको थियो ।
सहयोग संकलनका लागि सस्थाका सल्लाहकार शिवजी श्रेष्ठ,‘मिसेस नेपाल यूके आस्था जोशी सहित, गिता बस्नेत पाण्डे, प्रिमा भट्टराई, अमृता गिरी गजुरेल, मञ्जु शाह, शर्मिला पछाई थापा र अञ्जु श्रेष्ठ लगयतको बिशेष योगदान थियो । तर
सहयोग हस्तान्तरण कार्यक्रममा भने मनिषा, अञ्जु र अमृतामात्रै उपस्थित थिए । अन्य सदस्यको तर्फबाट भने नेपालस्थित परिवारका करिब ३० जना सदस्य कार्यक्रममा सहभागी रहेका थिए ।
सम्बोधनका क्रममा ‘मिसेस नेपाल यूके– २०१७’की सेकेन्ड रनर अप अमृता गिरी, मनिषा डंगोल र अञ्जु श्रेष्ठले मस्तिष्क पक्षघात बालबालिकालाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए ।
आफूहरुमा सामाजिक उत्तरदायित्वबोध भएको उल्लेख गर्दै गिरीले जोखिममा बाँचिरहेका बालबालिकाकालाई सहयोग गर्न पाएकोमा गौरवान्वित भएको बताइन् ।
मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले सुन्दा ग्ल्यामरजस्तो संस्था भए पनि मानवीय सेवामा गरेको सहयोग अतुलनीय रहेको बताए ।






