काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिने भएका छन् ।
उपसभामुख निर्वाचनका लागि आज दिँउसो १ बजे बैठकको समय तोकिएपनि २ बजेका लागि समय सारिएको संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए ।
सार्वजनिक महत्वको कुनै एक खास बिषयमा प्रधानमन्त्रीले झन्डै ५ मिनेट सम्बोधन गर्ने कार्यसुची राखिएको छ । प्रधानममन्त्रीले समय दिन नसकेमा यो कार्यसूची हट्ने महासचिव भट्टराईले बताए ।
यस्तो छ उपसभामुख निर्वाचनको कार्यसूची उपसभामुखको निर्वाचन प्रक्रिया अन्र्तगत सांसद डिला संग्रौला पन्तले कांग्रेस सांसद पुष्पा भुसाल गौतमलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनेर प्रस्ताव गर्नेछिन् । उक्त प्रस्तावको सांसद देवेन्द्रराज कंडेलले समर्थन गर्नेछन् ।
यस्तै सांसद देवप्रसाद गुरुङले शिवमाया तुम्बाहाम्फेलाई उपसभामुखमा निर्वाचित गरियोस भनेर प्रस्ताव गर्नेछन् । उक्त प्रस्तावको रवीन्द्र अधिकारीले समर्थन गर्ने र उक्त प्रस्तावहरुलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसुची रहेको छ ।
यसैबीच सभामुख कृष्णबहादुर महराले गत फागुन २६ गते भएको युएस बंगला विमान दुर्घटनाबारेमा बिषेश प्रस्ताव राख्ने कार्यसुची रहेको छ ।






