किरण बुढाथोकी
काठमाडौँ- गैर आवासीय नेपाली संघको आठौ विश्व सम्मेलनबाट निर्वाचीत नयाँ कार्यसमितिको पहिलो बैठक सत्र बुँदै विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । काभ्रेको धुलिखेलमा तीन दिनसम्म चलेको बैठकले विभिन्न विषयमा सत्र बुँदै निर्णय पारित गर्दै सम्पन्न भएको हो ।
गैर आवासीय नेपाली संघका प्रवक्ता भुषण घिमिरेका अनुसार संघको नयाँ कार्य समितिले विगतका कार्यकालमा भएका कार्यहरुको समीक्षा, संस्थागत लगायतका अन्य सरोकारका विषयमा विस्तृत छलफल गर्दै निर्णय गरेको हो । आगामी दुई वर्षभित्र गर्नुपर्ने कार्यहरुको योजना तर्जुमा गर्न सो बैठक गरिएको प्रवक्ता घिमिरेले जानकारी दिनुभयो ।

बैठकमा वर्तमान कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्व अध्यक्ष जीवा लामिछाने, पूर्व उपाध्यक्ष रामेश्वर साह र पूर्व प्रवक्ता डा. हेमराज शर्मालगायतको उपस्थिति रहेको थियो । बैठकले विशेष गरि एनआरएनएले बनाउनको लागेको लाप्राक नमुना बस्ती र आफनै भवनलाई विशेष प्राथमिकता दिने निर्णय गरेको प्रवक्ता घिमिरेले बताउनुभयो ।
बैठकले पारित गरेका निर्णयहरु जस्ताको तस्तै
१. भूकम्प पीडितका लागि गोर्खा जिल्लाको लाप्राकमा ४२ करोडको लगानीमा निर्माण भैरहेको ५७३ घर सहितको लाप्राक नमूना वस्ती यथाशिघ्र सम्पन्न गर्नका लागि संघका अध्यक्षको नेतृत्वमा एक समितिको गठन बैठकले गरेको छ । निर्माण सम्पन्न गर्न मौसमी कठिनाइ, स्थानीयवासीको प्रयात्प सहयोग र कामदारको उपलब्धता प्रमुख चुनौति रहेकोले पहिले तय गरिएको समय सीमा भित्र सम्पन्न गर्न कठिनाइ भइरहेको छ ।
२. संघको कार्यालय भवनको पहिलो चरणको कार्य आगामी बैशाख सम्म सम्पन्न गरी सचिवालय आफ्नै भवनबाट संचालन गर्ने तयारी भैरहेको छ । पहिलो चरणमा सम्पन्न हुने उक्त भवनको लागि जग्गा सहित करिब २५ करोड रुपैयाँ लागत लाग्ने अनुमान छ । उक्त भवनको दोस्रो चरणको निर्माण कार्यलाई पनि निरन्तरता दिइने छ । यसका लागि स्रोत जुटाउनु पर्ने अवस्था छ ।
३. अधिकार सम्पन्न वागमति सफाइ परियोजना अन्तरगत शंखमुलमा निर्माण भैरहेको एनआरएन पार्क आगामी बैशाखसम्म सम्पन्न गर्ने योजना अनुसार काम भैरहेको छ ।
नेपालमा अहिले करिब २०० मेघावाट विद्युतको अभावले लोड सेडिङ कायम रहेको तथ्यांकले देखाएको छ । यसलाई हटाउन तुरुन्तै विद्युत उत्पादन बढाउन सकिने अवस्था नभएकाले विद्युतको खपत घटाएर २०० मेघावाट भन्दा बढी उत्पादन बचत गर्न सकेमा राष्ट्रका लागि योगदान हुन सक्छ भन्ने संघको मान्यता छ । यसका लागि एलइडी बल्बको प्रयोगका लागि अभियान संचालन गरेमा छिटै नेपाललाई लोडसेडिङ मुक्त गर्न सकिन्छ । गैरआवासीय नेपाली संघले यस सम्बन्धमा सम्भाव्यता अध्ययन गरी आवश्यक सहयोग गर्ने निर्णय गरिएको छ
४. संघका अगुवाहरुको नेतृत्वमा नेपालको पूर्वाधार विकासमा उल्लेख्य लगानीको एउटा इन्भेष्टमेन्ट कम्पनी खडा गर्ने निर्णय गरिएको छ । यस बारेमा एक महिना भित्र विस्तृत अध्ययन गरी कार्यक्रम अघि बढाइने छ ।
५. गैरआवासीय नेपालीहरुको मूल्यांकन मूलत उनीहरुले व्यक्तिगत, सामुहिक वा संस्थागत रुपमा गरिने लगानी र कल्याणकारी कार्यहरुबाट नै हुने हो भन्ने कुरामा हामी सचेत छौं । गैरआवासीय नेपाली अभियानले यस्ता कामहरु गर्न संघको संजाल अत्यन्त प्रभावकारी भैरहेको छ भन्ने हाम्रा विगतका कामबाट प्रमाणित भैसकेको छ । तसर्थ अव गैरआवासीय नेपालीहरुले विगतमा भन्दा पनि बढी व्यक्तिगत र सामुहिक रुपमा लगानी गर्न संघले अभिप्रेरित गर्ने छ । गैरआवासीय नेपालीहरुको लगानीमा बैंक, लघु बित्त र सहकारीमा लगानी गरिने छ । नेपालमा लगानी बढाउन र विदेशमा नेपालीहरुको लगानीलाई सुरक्षित र अझै बढी नाफामुलक बनाउन आवश्यक देशहरुसँग बिप्पा सम्झौता, आर्थिक साझेदारी सम्झौता र दोहोरो कर मुक्ति सम्झौता गराउन सरकारसँग मिलेर काम गरिने छ ।
६.वैदेशिक रोजगारीमा जाने समुहलाई लक्षित गरी जनचेतनामुलक सामग्री प्रकाशन गर्ने र वैदेशिक रोजगारीका समस्या, समाधानका लागि गर्नु पर्ने कामहरु र सम्भावनाका विषयमा विस्तृत अध्ययन गरी एउटा स्वेत पत्र तयार गरिने भएको छ । वैदेशिक रोजगार कल्याणकारी कोषलाई रु ५ करोड पुर्याइ त्यसको नियमावली तयार गरी संचालनमा ल्याइने छ । वैदेशिक रोजगारमा गएकाहरुका लागि संचयकोष स्थापना गर्ने अभियानलाई कार्यान्वयनमा ल्याउने निर्णय भएको छ ।
७. नेपाली नागरिकता सहितका गैरआवासीय तथा नेपाली मूलका विदेशी नेपालीहरुको नागरिकताको निरन्तरताका लागि नीतिगत तहमा विशेष पहल गरिने छ ।
८. नेपालको संविधानको धारा २९१ ले स्थायी वसोबास अनुमति पाएका नेपाली नागरिकहरुले नेपालमा कुनै पनि पदमा नियुक्ति, मनोनित र निर्वाचित हुन नपाउने व्यवस्था गरेको छ । यस्तो व्यवस्थाले गैरआवासीय नेपालीहरुको नैसर्गिक अधिकार हनन भएको तथा गैरआवासीय नेपालीलाई विदेशी नागरिकता लिन प्रोत्साहित गरेकोले उक्त धारा खारेज गर्न राजनीतिक दलहरुलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
९. संविधानको धारा १४ ले राजनीतिक बाहेक सबै अधिकार आम नेपाली सरह उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्रदान गर्ने व्यवस्था भैसकेको छ । संविधानको उक्त व्यवस्था ऐनमा सुनिश्चित गर्न अनुरोध गरिन्छ ।
१०. विश्वव्यापी मान्यता अनुसार १८३ दिन भन्दा बढी दक्षिण एसियाली मुलुक बाहेकका राष्ट्रमा बसोवास गर्ने विद्यार्थी लगायतका गैरआवासीय नेपालीहरुलाई एनआरएनको परिभाषामा समावेश गरी गैरआवासीय नेपाली ऐनमा परिवर्तन गर्न पहल गर्ने निर्णय गरियो ।
११. गैरआवासीय नेपालीहरुले सिकेको ज्ञान, शिप र नव प्रवर्धनलाई नेपालको विकासमा सदुपयोग गर्न संघले संचालन गर्दै आएका निम्नकार्यहरु एउटै छाता भित्र संचालनमा ल्याउनका लागि एनआरएनए एकेडेमीको स्थापना गर्ने निर्णय गरियो ।
एनआरएनए साइन्स फाउन्डेशन ट्रष्ट
यात्रु सुरक्षा तथा सडक व्यवस्थापन कार्यक्रम
ब्लड ट्रान्सफ्युजन टेक्नोलोजी ट्रान्सफर कार्यक्रम
हेल्थ र हाइजिनमा टेक्नोलोजी ट्रान्सफर कार्यक्रम
नेपाल लाइब्रेरी परियोजनाको निरन्तरता
पोलिसी एकेडेमी संचालन
खुला विश्वविद्यालय
उद्यमशिलता तालिम कार्यक्रम तथा रोजकारी निर्माण कार्यक्रम
टेलिमेडिसिन
विद्यालय भगिनी सम्बन्ध
१२. संघले संचालन गर्दै आएका अतिथिदेवो भव, नेपाल फेष्टिवल, नेपाली सामानको प्रवर्धन लगायतका कार्यहरुलाई निरन्तरता दिइने भएको छ ।
१३. नेपालमा अहिले करिब २०० मेघावाट विद्युतको अभावले लोड सेडिङ कायम रहेको तथ्यांकले देखाएको छ । यसलाई हटाउन तुरुन्तै विद्युत उत्पादन बढाउन सकिने अवस्था नभएकाले विद्युतको खपत घटाएर २०० मेघावाट भन्दा बढी उत्पादन बचत गर्न सकेमा राष्ट्रका लागि योगदान हुन सक्छ भन्ने संघको मान्यता छ । यसका लागि एलइडी बल्बको प्रयोगका लागि अभियान संचालन गरेमा छिटै नेपाललाई लोडसेडिङ मुक्त गर्न सकिन्छ । गैरआवासीय नेपाली संघले यस सम्बन्धमा सम्भाव्यता अध्ययन गरी आवश्यक सहयोग गर्ने निर्णय गरिएको छ ।
१४. संघको विधानमा भिजन २०२० ले सिफारिस गरेका एनआरएनए फाउन्डेशनको स्थापना गर्ने, संघका सदस्यलाई परिचय पत्र प्रदान गर्ने, विधान सभा आयोजना गर्ने लगायत अन्य संघका आन्तरिक विषयमा महत्वपूर्ण निर्णयहरु गरिएको छ ।
१५. दोस्रो पुस्ताका गैरआवासीय युवा, महिला, नेपाली भूतपूर्व गोर्खा सैनिक लगायतका गैरआवासीय नेपालीहरुलाई दृश्टिगत गर्दै विभिन्न कार्यक्रम ल्याइने भएको छ ।
१६. गैरआवासीय नेपाली संघको एउटा सबैभन्दा महत्वपूर्ण कार्य नेपालीहरुका लागि कल्याणकारी कामहरुको अगुवाइ गर्ने हो । त्यसकालागि संघको केन्द्रले गर्ने नेपाल भित्रका कार्यहरुका अलावा सबै गैरआवासीय नेपाली संघ स्थापना भएका देशहरुलाई कम्तिमा एउटा सामाजिक वा कल्याणकारी काम गराउने गरी कार्यक्रम अगाडि बढाइने छ । गैरआवासीय नेपाली संघ भित्रको महिला समूहले गरिरहेकका कार्यहरुलाई निरन्तरता दिदै अरु नयाँ कार्यहरु पनि थपिने छ र संघका सबै कार्यक्रमहरुको अनुगमन र तथ्यसंकलनलाई व्यवस्थित बनाइने छ ।
१७. विभिन्न कारणबस मध्यपूर्व तथा मलेसियामा जेल सजाय भोगिरहेका नेपालीहरुको तथ्यांक संकलन गरी उद्दारको कार्यक्रम संचालन गर्न निर्णय गरियो । साथै साउदी अरबमा जन्म कैद भोगिरहेका थानेश्वर भूसाललाई उन्मुक्ति दिलाउन संघले आपतकालिन राहत कोषबाट १२ लाख ५० हजार रुपैया प्रदान गर्ने निर्णय गरियो ।जनता टाइम्स






