काठमाडौं- वाम गठबन्धनले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको सिट बाँडफाँड टुंग्याएका छन् । भागबण्डा अनुसार प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचनका लागि एमालेले ७५, माओवादी केन्द्रले ४६ र स्वतन्त्रको भागमा सात सिट परेको छ । यसअघि एमालेले २१ र माओवादीले १६ सिट पाएका थिए । एमालेले प्रतिनिधिसभामा जम्मा ९६ र माओवादी केन्द्रले ६२ सिट पाएको छ ।
त्यसैगरी प्रदेशसभा निर्वाचनका लागि भने एमालेलाई १ सय ७५ र माओवादीलाई ९३ सिट रहेको छ भने राष्ट्रिय जनमोर्चा तथा हृदयेश त्रिपाठी समूहलाई ६ सिट छुट्याइएको श्रोतले बताएको छ ।
यसरी प्रदेश सभामा एमालेले १ सय ९८ र माओवादीले १ सय २६ सिट पाएका छन् । पहिलो चरणमा प्रदेश सभाका लागि एमालेले ४१ र माओवादीले ३३ सिट पाएका थिए । वाम गठबन्धनले ६० र ४० प्रतिशत सिट बाँड्ने सहमतिअनुसार भागबण्डा गरेका हुन् ।
वाम गठबन्धनको बाँडफाँड भएको सिट संख्या
(क) प्रतिनिधि सभा
१) नेकपा एमाले: ९६ सिट
२) नेकपा माओवादी केन्द्रः ६२ सिट
३) राजमोरस्वतन्त्र समूहः ७ सिट
(ख) प्रदेश सभा
१) नेकपा एमालेः १९८ सिट
२) नेकपा माओवादी केन्द्रः १२६ सिट
३) राजमोरस्वतन्त्र समूहः ६ सिट






